_____________________________________________________________ सञ्जय विष्ट
(भारतेली नेपाली साहित्यका अग्रणी कथाकारका
रूपमा चिनिएका प्रा. सञ्जय विष्टले सम-सामायिक राजनैतिक विषयलाई पनि ध्यानपूर्वक
हेर्ने गरेका छन्। महाविद्यालयमा भर्ना भएपछि उनले सक्रिय विद्यार्थी राजनीति पनि
गरेका हुन्। अहिले उनी अध्यापन र कथा लेखनपट्टि लागेका छन्। ‘साहित्यकारहरूले अब
राजनीति गर्नुपर्छ’ –भन्ने सञ्जय विष्टले सम-सामायिक राजनैतिक विषयमा पनि लेख्ने
गरेका छन्। हाम्रा गफसफ.com - का पाठकवर्गका निम्ति उनको
यो लेख यहाँ प्रस्तुत गरेका छौँ – सम्पादक।)
डेढ महिनाजति पहिलेको एउटा नेपाली/गोर्खा दैनिकमा एउटा खबर छ – दार्जिलिङको मुख्य पर्यटकस्थल चौरस्ताका वरिपरि हरियो मकै
अनि पुच्का बेच्नेहरूलाई दार्जिलिङ नगरपालिकाले हटाएको। आफ्नो लगायत परिवारको जीवन
धान्ने एक मात्र आयस्रोत खोसिँदा उक्त व्यापारीहरू मर्कामा परेका र तिनीहरूको
जनाधिकार खोस्ने नगरपालिकाले तिनीहरू (आफ्नै नागरिक?)-लाई तिनीहरूको व्यापार चलाउने वैकल्पिक ठाउँ दिनुपर्छ भन्ने
तिनीहरूकै गुनासो पनि त्यही दैनिकको त्यही खबरबाट ध्वनित हुन्छ।
दार्जिलिङमा त्यस्ता सरकारी आदेशहरू बेला बेला आइरहन्छन्। दोहिरिरहन्छन्।
तेहरिरहन्छन्। एक दुई दिनका निम्ति दृश्य बद्लिन्छन्। बाटो हिँड्नेहरू रमाउँछन्।
फेरि एक दुई एक दुई गर्दै उच्छेदितहरू फर्की आउँछन् पुरानै ठाउँमा। अरू कस कसलाई
व्यापार गर्ने ठाउँ भए पनि दार्जिलिङका (कै)-हरूलाई त बाटो हिँड्नलाई त हो नि।
त्यसैले बाटो हिँड्नेहरू रिसाउँछन्। यो रमाउनु र रिसाउनुको क्रम दार्जिलिङ र कालेबुङ
जिल्लामा चलिरहन्छ, दिन र रातजस्तै। त्यसैले, विशेष भारतीय पर्यटकहरूलाई क्रेता बनाई पुच्का र मकैको
व्यापार गर्ने ती व्यापारीहरूलाई नगरपालिकाले अहिले वैकल्पिक ठाउँ दियो कि त
तिनीहरू आफ्ना आफ्ना पुराना ठाउँमै पुगिसके। त्यसबारेमा सुर्ता नगरौँ। तर यसो
बिचार्दा के लाग्छ भने तिनीहरूको कि त पुनर्स्थापन कि त वैकल्पिक स्थानको माग
साँच्चै आधिकारिक छ? दार्जिलिङ नगरपालिका (कालेबुङ, खर्साङ र मिरिक नगरपालिकामा पनि यस्ता समस्याहरू होलान्)-ले
तिनीहरूको समस्याको दायित्व लिनै पर्छ?
फर्कौँ, पुच्का
र मकै बेच्नेहरूतिरै।
यी दुवै वर्गका व्यापारीहरूसित हाम्रो भाषिक लबज मिल्दैन। पहिलो वर्गकाहरू
अर्कै भाषिक परिवेशबाट आई हाम्रो अनुकरण गर्नेहरू हुन्। अनुकरण भन्ने सय प्रतिशत
सम्भव हुँदैन। दोस्रो वर्गकाहरू पहिलो वर्गका जस्तो विभाषी नै त होइनन् तर
तिनीहरूको चाहिँ कथ्य मिल्दैन हामीसित। तिनीहरूको कथ्यमा आफ्नै स्थानिक विशेषता
छन्,
हाम्रोसित नमिल्ने। तिनीहरू धेर श्रम थोर रुपियाँदेखि भागेर
थोर श्रम धेर रुपियाँ अनि ‘नेप्टी
चेप्टी दार्जिलिङ कस्तो छ? दार्जिलिङ सहर बत्तीको लहर बैकुन्ठैजस्तो छ’-ले यता ‘थाई’
हुने र हुन चाहनेहरू हुन्।
जे होस्, तिनीहरूको
आगमनको क्रम जारी छ। अधिकारीहरूको अदूरदर्शिताले हाम्रोभन्दा तिनीहरूकै रासिन
कार्ड र मतदाता परिचय-पत्र छिटो बन्छ र अशिक्षित तिनीहरूलाई चट्टी दिइराखेर हाम्रा
शिक्षितहरू नेपाल जान्छन्। अहिले बिहार पलायनको क्रम धुमधाम बढेको छ। ‘हाम्री आमा कत्ति बाठी, चामलसित पिठो साटी’-को यो विनिमयको परम्परा कसले कहिले रोक्ने हो? बलियो मानव संसाधन पलायनको यो परम्परा रोक्ने दायित्व
सत्तापक्षको होइन? आफ्नै र समर्थ मानव संसाधनलाई त्यसरी पलायित बन्नबाट
रोक्नलाई सम्भावित योजना र उद्योग धन्दाका पूर्वाधार निर्माण गर्न हामी ढिलाइरहेका
त छैनौँ।
पर्यटकहरू ‘दार्जिलिङ’ घुम्न भनेर ‘दार्जिलिङ’ आउँदैनन्। ‘दार्जिलिङ सहर’ आउँछन्। दार्जिलिङ आएर तिनीहरू सिटोङ जाँदैनन्; बिजनबारी, सौरेनी, चिम्नी बस्ती, राङ्भाङ बस्तीतिर पनि जाँदैनन्। हेप्पी भेल्ली चियाबारीको
गोदामसम्म जालान् तर कमानका श्रमिकहरूको बस्ती हेर्न जाँदैनन्। सिंहमारीको रोप वे
चढेर आकाशपथबाट तकभर पुग्लान् तर पात्लेबाँस, तकभर र सिङ्लाका आदिवादीहरू को हुन् तिनीहरूलाई अत्तोपत्तो
हुँदैन। मिरिक झिलसम्म जालान् तर जयन्तीनगर भनिने बुङकुलुङ पुग्दैनन्। तिनीहरूले
जाने भनेको त टाइगर हिल, जु,
भालेढुङ्गा, जापानिस ट्याम्पल, बतासे; त्यै सेभेन पोइन्ट र पाइभ पोइन्टहरू नै त हुन्। त्यसो हुँदा
ती पोइन्टहरूमा ती पर्यटकहरूले भेट्नेहरूमा एक चौथाई पनि हाम्रा मानिस होइनन्।
किनभने दार्जिलिङ सहर र वरिपरिका पर्यटकीय क्षेत्रहरूमा आलुभुजादेखि बर्गर र हट
डगसम्म,
पुच्कादेखि छोला भटोरासम्म, रुमालदेखि पस्मिना सलसम्म, गम्बुटदेखि एडिडाससम्म, जयबङ्गलाको ट्र्याकदेखि लेगिङ्स्सम्मको व्यापार गर्नेहरूमा
तीन चौथाई नै हाम्रा मानिस होइनन्। मकै हाम्राहरूले नै रोपी उमारी फलाएका होलान्।
तर नाथे मकैकै व्यापारमा पनि उत्पादकले भन्दा ठुलो मुनाफा कमाउनेहरूमा धेरै हाम्रा
होइनन्। यसो हुँदा तिनीहरू जस जसलाई भेट्छन्, जस जसको सम्पर्कमा आउँछन्, तिनीहरूलाई लाग्छ – यो ठाउँ तिनीहरूकै हो। यो कुरो तथ्यपरक होइन, यदि कसैले भन्छ भने नगरपालिकाले बेला बेला ट्याङ्करमा ल्याई
पानी बाँडेको ठाउँ र छठ पूजातिर पुग्नु भ्रम निवारण भइहाल्छ।
अस्सीको दशकको मध्यदेखि पाहाडमा चलेको गोर्खाल्यान्डको आन्दोलनले उम्लिँदै
सेलाउँदै,
उम्लिँदै सेलाउँदै तीन दशक खाइसकेको छ। तीस वर्षको यस
दीर्घकालीन अवधिमा रोजगारका अवसरहरू खोसिए र सामाजिक विसङ्गति देखा पऱ्यो भनेर यदि
यस वर्तमानले भन्छ भने त्यसलाई तिनीहरूको नोस्टालजिया भनिहाल्न मिल्दैन।
सत्तापक्षले आस्तित्विक आन्दोलनको फलस्वरूप घरि केन्द्रसित र घरि राज्यसित सम्बन्ध
बिग्रिएकैले हामीले हाम्रो जनतालाई रोजगारको अवसर दिन सकेनौँ भन्छ भने भन्नेको
लहलहैमा लागिहाल्न पनि मिल्दैन।
राजनीतिमा सम्बन्ध बिग्रनु र सप्रनु सामान्य कुरो हो। बिग्रिएको सम्बन्ध
सपार्नु गाह्रो होला तर राजनीति गर्छु भन्नेहरूले यति गर्न सक्नै पर्छ। मनबाटै
चिताए नपुग्ने के छ? विगत विधानसभा चुनाउमा बङ्गालमा बामपन्थीहरूसितको काङ्ग्रेसको गठजोड उदाहरणीय
छ। जसको कारणले सयौँ मानिस सहिद बने, त्यही माकपासित गोरामुमोको गठबन्धन अर्को उदाहरण छ।
वास्तवमा गोर्खाल्यान्डको मागलाई ‘ड्रप’ नगरी, त्यसैलाई बार्गेनिङ गर्ने हतियार बनाएर गोर्खाल्यान्डबाहेक
जे मागे पनि दिन्छ केन्द्र र राज्य सरकारले। दिँदैन भने माग्ने पद्धति ठिक छैन
भन्ने बुझ्नुपर्छ जनताले।
फर्कौँ, पुच्का
र मकै बेच्नेहरूतिरै।
हाम्रो बुद्धिलाई भावनाले मिचिरहेको छ जहिले पनि। ठुलालाई ढोग्ने र सानालाई
ठोक्ने प्रवृत्ति हामीसित छैन। हाम्रो मुटु कति ठुलो भने ‘बसुधैव कुटुम्बकम्’ भन्ने उक्ति त हाम्रै लागि बनिएको हो कि जस्तो छ। आऊ, बस, गरी खाऊ। तर हामी आफ्नो आँगन साँघुरिएको हेक्का राख्दैनौँ।
आफ्नो अन्ताराष्ट्रिय स्वार्थका कारण हाम्रो देशले नेपालसितका नाकाहरू कहिल्यै
बन्द गर्दैन। कुनि किन काँकटभिट्टामा नेपाल प्रहरी आफ्ना नागरिकलाई अलिकति सुपारी
निर्यात गर्न पनि दिँदैनन् तर नागरिककै पलायनमा चाहिँ तिनीहरू कुनै सरोकार
राख्दैनन्। देशवासीले घरि घरि हामीलाई ‘नेपाल से?’ भनेर प्रश्न गर्ने गरेको पनि यही कारणले हो। गमन र आगमनको
यो परम्परा आज पनि चलिरहेको छ भन्ने कुरो लुकाउनुभन्दा आगमनसितै पलायनको
परम्परालाई रोक्ने उपायहरू खोज्नु सामयिक र बुद्धिमतापूर्ण कार्य हुनेछ।
सत्तासीनहरूले समयमा आफ्नो मान्छे चिन्नै पर्छ नत्र गत विधानसभा चुनाउमा असममा
भाजपाले पक्रेको मुद्दा कुनै समय हाम्रा निम्ति पनि चुनावी मुद्दा बन्न सक्छ। धेर ‘सेन्टिमेन्टल’ भयौँ भने भविष्यमा दुख पाउनेछौँ हामीले नै। यसैले बेला अलिक
‘प्रयाक्टिकल’ हुने आइसकेकै हो।
दार्जिलिङ घुम्न जान्छु भनी दार्जिलिङ सहरै मात्रै घुमी फर्कने देशी विदेशी
पर्यटकहरू त जे देख्छन्, त्यही लेख्छन्। यसो भएरै त राष्ट्रिय सञ्चार माध्यमले दार्जिलिङको भनेर घरि
घरि देखाउँछ परसंस्कृति। क्याम्पबेलले अब्जर्भेटरी हिलछेउछाउबाट आँखाले
भ्याउनेजत्ति उँधो हेरेर दार्जिलिङ यै हो ठानी देखेको र लेखेको ‘केही घर र एक सय आबादी’-जस्तै इतिहास बाङ्गिन्छ। यसरी बाङ्गिएको इतिहास सोझ्याउनु
पटक्कै सजिलो हुँदैन।
त्यसैले माथि लेखिएको कुरो मानेर अलिक प्र्याकटिकल भई भन्नु हो भने, चौरस्तामा मकै बेच्नेहरू सबै हाम्रा मानिस होइनन्।
त्यसैकारण सत्तापक्षले तिनीहरूको समस्यामा साह्रै चिन्ता लिनु पर्दैन।
भन्नै हो भने त तिनीहरू दोहोरो नागरिकताका अपराधीहरू हुन्।
No comments:
Post a Comment