गफसफ.com,
कालेबुङ 27 जुलाई।
जन आन्दोलन पार्टीले शहीद दिवस पालन गरेर छुट्टै राज्य
गोर्खाल्याण्ड प्राप्तिको निम्ति शहीद हुनेहरूलाई श्रद्धाञ्जली दिएको छ। कालेबुङको
थानाडाँडा स्थित त्रिकोण पार्कमा पालन गरिएको शहीद दिवस कार्यक्रममा विभिन्न
स्थानबाट आएका मानिसहरूले शहीदहरूलाई श्रद्धाञ्जली दिने कार्य गरेका थिए।
शहीद दिवसको अवसरमा गतवर्ष छुट्टै राज्य गोर्खाल्याण्डको
आन्दोलनमा पक्रा परेर न्यायिक हिरासतमा मृत्यु भएका शहीद बरुण भुजेलका पिता अनि
आन्दोलनको समय बम बिस्फोटमा परेर शहीद बनेका सिभिक पुलिस राकेश रावका परिवारलाई
जापले सम्मान जनाएको थियो। यस अवसरमा शहीद दिवस कार्यक्रमलाई जाप अध्यक्ष डा.
हर्कबहादुर छेत्री, केन्द्रिय सदस्य अमर लामा, युवा नेता विशाल राई आदिले सम्बोधन
गर्दै शहीदहरूलाई साँचो श्रद्धाञ्जली केवल छुट्टै राज्य गोर्खाल्याण्ड गठनले मात्र
हुने दाबी गरे। उनीहरूले आफ्नो सम्बोधनको क्रममा बारम्बार छुट्टै राज्यको नाउँमा
आन्दोलन गर्ने नेताहरूले स-साना असंवैधानिक व्यवस्थाहरूमा सम्झौता गरेको कारण
छुट्टै राज्य हुन नसकेको कारणले नै गोर्खाल्याण्डको निम्ति शहीद बन्नेहरूको सपना
पुरा हुन नसकेको बताएका छन्।
‘गोजमुमोले शहीदको रोयल्टी थापिसकेको छ। यसकारण अबउसो
गोजमुमोलाई शहीद दिवस पालन गर्ने कुनै नैतिक अधिकार समेत छैन’ जाप केन्द्रिय सदस्य
अमर लामाले कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले आफ्नो सम्बोधनको क्रममा शहीदलाई
श्रद्धाञ्जली अर्पण गर्दै शहीद माथि लेखिएका कविता समेत वाचन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमर लामाले चिया श्रमिकवर्गको अधिकारको निम्ति विभिन्न
श्रमिक सङ्गठनहरूको संयुक्त सङ्गठन जोइन्ट फोरमद्वारा चलाइरहेको आन्दोलनबारे पनि
बताएका थिए। ‘जोइन्ट फोरमको आन्दोलन सरकार विरुद्धको आन्दोलन होइन, यो आन्दोलन
चियाकमान मालिकहरू विरुद्धको हो। तर यहीँ आन्दोलनमा सबै राजनैतिक दलका श्रमिक
सङ्गठनहरू एकबद्ध हुँदा दुईवटा राजनैतिक दलका सङ्गठन भने अघि नआउनु ठूलो दुर्भाग्य
हो’ अमर लामाले भने।
उनले आफ्नो सम्बोधनको क्रममा बनबासीको मुद्दा उठाइरहेका
लिला कुमार गुरुङलाई पनि सम्झना गर्दै उनलाई कुनै कानुनी अड्चन भएको खण्डमा जापले
कानुनी सहयोग पूर्णरूपले गर्ने घोषणा समेत गरेका छन्। लामाले एकदिन शहीद दिवस पालन
गरेर शहीदलाई साँचो श्रद्धाञ्जली दिन नसके पनि आफुहरू शहीदलाई छुट्टै राज्य गठन
गरेर शहीदहरूले देखेको सपनालाई पुरा गर्नका निम्ति कटिबद्ध रहेको पनि बताएका छन्।
यता शहीद दिवस समारोहलाई गोजमुमो युवा नेता विशाल राई, नरेश राई, भुपेन राई आदिले
पनि सम्बोधन गरेका थिए।
Good work done in Guf saf
ReplyDeleteअझै राम्रो समाचार को आशा छ ।