गफसफ.com, कालेबुङ २६
सितम्बर।
माकपा नेता तारा सुन्दासको नेतृत्वमा पोस्ट अफिसमा पैसा जमा
गर्ने लगानीकर्ताहरूले अधिकारीवर्गलाई भेट गरेर आफुहरूले लगानी गरेको पैसा झट्टा
फिर्ता गर्नुपर्ने माग गरेका छन्।
कालेबुङ जिल्ला अधिनस्थ जलढक्का पोस्ट अफिसमा उपभोक्ताहरूले
जम्मा गरेको लाखौँ रूपिया हिनामिना भएको भन्दै आफ्नो लगानी फिर्ताको मागमा पीडित
उपभोक्ताहरूले आज कालेबुङ जिल्ला पोस्ट मास्टर अनिल छेत्री अनि पोस्टल निरिक्षक धिरज
तामाङलाई भेट गरेका छन्।
पोस्ट अफिसमा राखेको पैसा सुरक्षित हुने आशामा मानिसहरूले
दुख गरेर पैसा जमा गरे पनि पोस्ट मास्टर गगन राईलाई उक्त लाखौँ रूपियाँ हिनामिना
गरेको आरोप लागेको छ। जसको विरुद्ध लगानीकर्ताहरूले 18 मई 2018 का दिन नै जलढक्का
थानामा प्राथमिकी दर्ता गरेपनि आजसम्म उनलाई पुलिसले पक्राउ गर्न नसकेपछि
पीडितहरूले पोस्ट अफिसका अधिकारीवर्गलाई भेट गरेर आफ्नो लगानी रूपियाँ फिर्ता
गर्नुपर्ने माग गरेका हुन्।
यसक्रममा माकपा नेता तारा सुन्दासले पीडित लगानीकर्ताहरूको
पैसा झट्टा फर्काउनुपर्ने माग गर्दै आरोपीलाई पुलिसले पक्राउ गर्नुपर्ने माग गरेका
छन्। ‘जलढक्का पोस्ट अफिसमा 25 सय मानिसहरूले खाता खोलेर पैसा जमा गरेका थिए। सबैले
राखेको ती पैसाहरू 2017 को नोभेम्बरदेखि अप्रेल 2018 सम्म कुनै लेखाजोखा नै भएको
छैन। पोस्ट अफिसबाट पैसा हराएपछि जलढक्कामा थानामा पीडित जनताले पोस्ट मास्टर गगन
राई विरुद्ध प्राथमिकी पनि दर्ता गरिएको छ’ माकपा नेता तारा सुन्दासले अझ भने –‘उनले
पैसा थापेर सोझै आफ्नो गोजिमा राखेर लखभग 70 लाख पैसा हिनामिना भएको छ।’
यस सम्बन्धमा पीडित मानिसहरूले पोस्ट अफिसमा जमा गरेको पैसा
फिर्ता पाउनुपर्ने माग गर्दै सुन्दासले अवकाश प्राप्त पुलिसकर्मी बलबीर मंगरको 12
लाख, ओमनाथ भट्टराई 6 लाख अनि मनबहादुर तामाङको 4 लाख पैसा हिनामिना भएको बताएका
छन्।
सुन्दासले 6 दिसम्बर 2017का दिन तेजपुर पोस्ट अफिसमा 60 लाख
पैसा हिनामिना भएको भन्दै घट्नालाई लिएर सीबीआईले जाँच गरिरहेको अनि यहाँको मुद्दालाई
भने सीबीआईले किन जाँच गरेको छैन भनि प्रश्न गरेका छन्। ‘गरीब जनताको पैसा लुट्ने
कार्यको हामी विरोध गर्छौँ’ तारा सुन्दासले भने। यसक्रममा उनले आगमी दिनमा पीडित
मानिसहरूले आफ्नो लगानी फिर्ता नपाए पोस्ट अफिसमा धर्ना गर्ने पनि चेतावनी दिएका
छन्।
अर्कोतर्फ पोस्टल निरिक्षक धिरज तामाङले जलढक्का पोस्ट अफिस
कालेबुङ पोस्ट अफिस अधिनस्थ नरहेको जानकारी दिँदै उक्त पोस्ट अफिस जलपाईगडी डिभिजन
अधिनस्थ रहेको बताएका छन्। यद्यपी उनले पीडित लगानीकर्ताहरूको गुनासोलाई विभागीय
पक्षबाट आफुहरूले सम्बन्धित निकायमा पठाउने कार्य भने गर्ने आश्वासन दिएका छन्।
No comments:
Post a Comment