गफसफ.com,
कालेबुङ, 24 दिसम्बर।
नेपाली फिल्म आप्पाको पहिलो गीत सार्वजनिक गरिएको छ। सिनेमा
क्याफेमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘हावा सरर...’ युट्युब मार्फत्
सार्वजनिक गरिएको छ। मुख्य अतिथिका रूपमा उपस्थित रहेका फानुस सादा लेप्चाको
बाहुलीबाट उक्त गीतको सार्वजनिक गरिएको हो।
नेपाली फिल्ममा अनेकौँ प्लेब्याक सिङ्गरको रूपमा कार्य
गरिसकेका चर्चित गायक थुप्देन भोटिया अनि स्नेहश्री थापाद्वारा स्वरवद्ध उक्त गीतमा
शब्द उमेश उपमाको रहेको छ भने फिल्मका निर्देशक अन्मोल गुरुङकै सङ्गीत रहेको छ।
माउन्टेन स्टोरिजको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत्
सार्वजनिक गरिएको उक्त फिल्मको गीतमा चर्चित कलाकार दयहाङ राईलाई देखिएको छ। यसका
साथै बङ्गाली कलाकारद्वय सम्राट विश्वास अनि रिङ्की लगायत अन्य बङ्गाली
कलाकारहरूलाई पनि गीतमा अभिनय गरिएको देखाइएको छ। सुन्दर सङ्गीत संयोजन अनि राम्र
दृष्यहरू समेत रहेको उक्त गीतको छायाङ्कन समेत लोभलाग्दो भएको छ।
सिनेमा क्याफेमा आयोजित उक्त गीत सार्वजनिक कार्यक्रमलाई
सम्बोधन गर्ने क्रममा गायक थुप्देन भोटिया अनि गायिका स्नेहश्री थापाले गीत सुन्दर
रहेको बताउँदै दर्शकवर्गले पनि उक्त आप्पा फिल्नको गीतलाई रूचाउने आशा व्यक्त
गरेका छन्।
यसक्रममा फिल्मका निर्देशक अन्मोल गुरुङले उक्त गीत आप्पा
फिल्म हेर्नलाई पर्खेर बसेका दर्शकवर्गको निम्ति पहिलो कोशेली बताउँदै आगामी दिनहरूमा
अन्य गीतहरू पनि क्रमवद्धरूपले सार्वजनिक गरिने बताएका छन्। उनले दार्जीलिङ पहाडको
चर्चित पर्यटन स्थल सन्दकपुमा गीतको भिडियो छायाङ्कन गर्दा खुबै रमाइलो भएको
घट्नाहरूको स्मरण गर्दै गायक थुप्देन भोटिया अनि गायिका स्नेहश्री थापाले खुबै राम्रो
गाएको बताए।
यता कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका फानुस
सादा लेप्चाले आप्पा फिल्मको पहिलो गीत दमदार रहेको बताउँदै फिल्म रिलिज भएपछि
यसले नेपाली फिल्मको बजारमा धमका मच्चाउन सक्ने बताएका छन्। अर्कोतर्फ निर्माता
रूदेन सादाले आप्पा फिल्म राम्रो कथामा आधारित रहेको भन्दै यसको गीतले फिल्ममा
धेरै महत्व बोकेको बताएका छन्। कार्यक्रमलाई फिल्मका डेब्यु कलाकार सिद्धान्त तामाङ,
अलोना काबो, सम्राट विश्वास अनि रिङ्कीले पनि सम्बोधन गरेका थिए।
No comments:
Post a Comment