गफसफ.com, कोलकोता 18
जनवरी।
भारत बनाम अस्ट्रेलियामाझ चलिरहेको
क्रिकेट प्रतियोगिताको मौसममा देशभित्रै सम्पन्न भइरहेको खेलो इन्डिया युथ गेम्सको
चर्चा भने मलीन भएको छ। महाराष्ट्रको पुणेमा सम्पन्न भइरहेको यस युवा खेल
प्रतियोगितामा घरपटी राज्य हालसम्मको तक्मा सूचीमा सबैभन्दा माथिल्लो दर्जा
ओगट्नमा सफल भइरहेको छ। यो राज्यलाई यसरी प्रथम पङ्क्तिमा पुऱ्याउने श्रेय लिने
खेलाड़ीहरूमा एक हुन् पुणेमै जन्मेर हुर्किरहेका युवा घुस्सीबाज आकास गोर्खा।
पुणे मध्यभागमा अवस्थित सदाशिव पेठ
नामक आवासीय क्षेत्रका आकास गोर्खाका पिताजी रमेश गोर्खा एक साधारण चौकीदार हुन्।
आकासको परिवारमा पुणेको यस आवासीय क्षेत्रमा बस्ने हैसत त छैन तर यहीँ उनले बक्सिङ
खेल सिक्दै हुर्केका हुन्।
धनाढ्य आवासीय क्षेत्रको छेउको यौटा सानु गाड़ी गेरेजमा
बस्ने आकासका पिता आजभन्दा 21 सालअघि यहाँ रोजीरोटीको खोजी गर्दै आइपुगेका हुन्।
फुच्चे साथीहरूसित सानैदेखि नै घुस्सी हानाहान गरेको सधैँ देखिरहने हुनाले आकासका
बाल्यकालका प्रशिक्षक उमेश जगड़ालेले आकासको भविष्यलाई लिएर रमेश गोर्खासित बातचित
गरे। त्यसपछि 2010-मा आकासलाई स्थानीय क्लब महाराष्ट्र इंस्टिट्युट अफ गेम्स एन्ड
स्पोर्ट्समा हुलिदिएर यस खेलको तालिम दिनथाले। हालमा केवल 16 वर्ष मात्र पुगेका
आकासको प्रगति देखेर उनका प्रशिक्षक जगडालेले सन्तुष्टि व्यक्त गरिरहेका छन् अनि
निकट भविष्यमा यस युवा खेलाड़ीबाट देशले केही न केही उपलब्धि प्राप्त गर्ने विषयमा
उनी विश्वस्त छन्।
यहाँ अहिले चलिरहेको खेलो इन्डिया
युथ गेम्समा महाराष्ट्र राज्यलाई प्रतिनिधित्व गरेर 17-मुनिको 57 किग्रा वर्ग
बक्सिङमा आकासले विजय प्राप्त गरेर फाइनल दौरमा आफ्नो स्थान सुरक्षित राखेपछि
सबैले हर्ष अनुभव गरेको प्रशिक्षक बताउँछन्। हरियाणाका समकक्षी अमन दुहानलाई
परास्त गरेर यो स्थान ओगट्ने आकासले 2017-मा जुनियर बक्सिङ च्याम्पियनसिपमा दोस्रो
स्थान अनि गत वर्ष मात्र सर्बियामा आयोजित बक्सिङको जुनियर कपमा रजत पदक
हत्याइसकेका छन्।
हुने बिरुवाको चिल्लो पातको लक्षण देखेर नै उनलाई भर्खरै आर्मी
स्पोर्ट्स इंस्टिट्युटमा भर्ती प्रदान गरिएको छ जहाँ आकास नियमित रुपमा बक्सिङको
तालिम ग्रहण गरिरहेका छन्। बक्सिङ रिङभित्र आक्रमणलाई भन्दा धेर ध्यान सुरक्षामा
लगाएर दत्तचित्तले खेल्ने आकासले साथीहरू पनि खुबै मनमिल्ने पाएका छन्। साथै उनले
बताएअनुसार प्रशिक्षकबाट धेरै कुराहरू सिक्ने औसर पाइरहेका छन्।
आर्थिक रुपले
बिपन्न परिवारमा जन्मेर हुर्केका आकासका लागि यसअघि बक्सिङ खेलाड़ीलाई चाहिने
खानपिन जुटाउन धेरै हम्मे परे तापनि हालमा यस तालिम केन्द्रमा स्थान पाएपछि भने
आवश्यकताअनुसारको सन्तुलित भोजन ग्रहण गर्न पाएर शारीरिक रुपमा पनि परिवर्तन आउन
थालेको पिताजी रमेश गोर्खा बताउँछन् अनि आफ्ना पुत्रले प्राप्त गरिरहेको
तालिमप्रति सन्तुष्टि प्रकट गर्छन्। आफ्ना दुइ छोराहरूमा एकजना कलेजमा अध्ययन
गरिरहेको बताउँदै पुणेकै रामदूत कम्प्लेक्समा चौकीदारका रुपमा सेवारत पिता रमेश
गोर्खा आगामी दिनमा आकासले देशको लागि बक्सिङ खेलमार्फत् महत्त्वपूर्ण उपलब्धि
प्राप्त गर्ने विषयमा आशावादी रहेको बताउँछन्।
No comments:
Post a Comment