तृणमूल
कङ्ग्रेसका चुनाव पर्यावेक्षक एवम् मन्त्री अरूप विश्वासले गोजमुमो समर्थित तृणमूल
प्रार्थी अमरसिंह राईको पक्षमा कालेबुङमा रोड शो गरेका छन्। यसक्रममा उनले भूमिपुत्र
प्रार्थी अमरसिंह राईलाई बिजय बनाउनुपर्ने अपिल गरेका छन्।
‘तृणमूल
कङ्ग्रेसले पहाडवासीको निम्ति भूमिपुत्र प्रार्थी खडा गरेको छ। भाजपाले दशवर्षसम्म
केहि गरेन अनि अब मणिपुरबाट ल्याएको राजु विष्टले पनि केहि गर्नेछैन। यसैकारण
तपाईँहरूकै भूमिपुत्र अमरसिंह राईले तपाईँहरूको काम गर्नेछन् अनि उनैलाई
पहाडवासीले जिताएर पठाउनुपर्नेछ’ अरूप विश्वासले भने।
यसक्रममा
उनले दार्जीलिङ संसदीय क्षेत्रका मानिसहरू मणिपुरबाट ल्याएका भाजपाको प्रार्थीलाई
भेट्न जान नसक्ने पनि बताए। उनले भने –‘प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको
सपना मेरो सपना भनेर ढाँट्ने काम गरे। अब एकचोटी फेरि मणिपुरबाट राजु विष्ट ल्याएर
पहाडवासीलाई ढाँट्ने कार्य भाजपाले गरिरहेको छ। तृणमूल कङ्ग्रेसले पहाडलाई माया
गरेको छ यसैकारण ममता ब्यानर्जीले पहाडवासीकै माग अनुसार भूमिपुत्र प्रार्थी समेत
दिएर पहाडलाई अझै विकास गर्ने सोंच बनाएकी हुन्।’
उनले
अमरसिंह राईले पहाडका बासिन्दा भएको कारण उनले नै पहाडका मानिसहरूको समस्यालाई
राम्ररी बुझ्न सक्ने बताउँदै बाहिरबाट ल्याएका राजु विष्टले केहि बुझ्न नसक्ने पनि
आरोप लगाए।
हिज
बेलुकीपख कालेबुङ आइपुगेका अरूप विश्वासले आज शहरमा रोड शो गर्नका साथै थाना
डाँडामा चुनावी सभालाई पनि सम्बोधन गरेका थिए। यसक्रममा उनले प्रधानमन्त्री
नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै जनताले यसपल्ट भाजपालाई सही जवाब दिनुपर्ने
आह्वान गरे।
भाजपाले
10 वर्षमा पहाडमा केहि कार्य नगरेको आरोप लगाउँदै मुख्यमन्त्री ममता ब्यानर्जीले
पहाडमा धेरै विकास कार्यहरू गरेको दाबी पनि गरे। उनले बङ्गालमा तृणमूल कङ्ग्रेसले
42 आसनमा नै जित निकाल्ने दाबी गर्दै भाजपा अध्यक्ष अमित शाह नै चुनाव प्रचारमा
आउँदा समेत कुनै फरक नपर्ने दाबी गरेका छन्।
यता
उक्त चुनावी सभालाई सम्बोधन गर्दै गोजमुमो महासचिव अनित थापाले यसपालिको भोट
गोर्खाहरूको परिचयको संकट समाधान गर्छु भन्नेलाई दिनुपर्ने अपिल गरेका छन्। उनले
अहिलेसम्म गोर्खाहरूको परिचयको संकटलाई कसैले समाधान गर्छु नभएको बताउँदै केवल
मुख्यमन्त्री ममता ब्यानर्जीले मात्र गोर्खाहरूको राष्ट्रिय परिचयको संकटलाई
समाधान गर्छु भनेको कारण जनताले अमरसिंह राईलाई भोट दिएर परिचयको संकटलाई समाधान
गर्ने कार्य गर्नुपर्ने थापाले बताए।
No comments:
Post a Comment