भारतीय जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। उक्त
चुनावी घोषणा पत्रमा भाजपाले छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई भने कहीँ कतै
उल्लेख गरेको छैन। यसको सट्टामा गोर्खाहरूका 11 जात गोष्ठिलाई जनजातिको मान्यता
दिने मुद्दालाई भने प्राथमिकता दिएर उल्लेख गरेको छ। यसका साथै दार्जीलिङ पहाड,
सिलगडी तराई अनि डुवर्स क्षेत्रको स्थायी राजनैतिक समाधान खोज्ने दिशामा काम गर्ने
प्रतिवद्धता जाहेर गरेको छ।
‘हामी 11 छुटेका भारतीय गोर्खा उप-जातगोष्ठीहरूलाई
अनुसूचित जनजातिको मान्यता दिनेछौँ। यसका साथ-साथै हामी सिक्किम विधानसभामा लिम्बु
अनि तामाङ जनजातिको निम्ति आरक्षण लागु गर्नका निम्ति पनि प्रतिवद्ध छौँ’ भाजपाले
आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेको छ।
दार्जीलिङ लोकसभा आसनबाट यसभन्दा अघि भाजपाले दुईचोटी छुट्टै राज्य
गोर्खाल्याण्डको मुद्दामा भोट जितेपछि यसपल्ट उनीहरूले आफ्नो चुनावी घोषणा पत्रमा
छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई प्रमुखता दिने हो होइन भन्ने चर्चा पनि
चलिरहेको थियो। यस्तो अवस्थामा भाजपाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई नै
स्पष्टसँग समर्थन गरेर घोषणा पत्रमा भने उल्लेख गरेको छैन।
भारतीय गोर्खाहरूले राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति छुट्टै
राज्य गोर्खाल्याण्डको माग गर्दै आएको अवस्थामा भाजपाले अघिका दुईवटा लोकसभा
चुनावमा आफ्नो चुनावी घोषणा पत्रमा ‘गोर्खाहरूको दीर्घकालिन मागलाई
सहानुभूतिपूर्वक विचार गरिनेछ’- भनेर उल्लेख गरेको थियो भने यसपल्टको चुनावी घोषणा
पत्रमा उक्त ‘दीर्घकालिन माग’ समेत उल्लेख गरिएको छैन। यसको सट्टामा भाजपाले
भारतीय गोर्खाहरूको ‘दीर्घकालिन माग’-लाई सम्बोधन नगरेर केवल दार्जीलिङ पहाड,
सिलगडी तराई अनि डुवर्स क्षेत्रको समस्यालाई स्थायी समाधान खोज्ने प्रयास गर्ने
प्रतिवद्धता जाहेर गरेको छ।
‘हामी दार्जीलिङ पहाड, सिलगडी तराई अनि डुवर्स क्षेत्रको समस्याहरूको
स्थायी राजनैतिक समाधान खोज्ने दिशामा काम गर्नका निम्ति प्रतिवद्ध छौँ’ भाजपाले
आफ्नो चुनावी घोषणा पत्रमा लेखेको छ।
भाजपाले सार्वजनिक गरेको यसपल्टको चुनावी घोषणा पत्रमा स-साना राज्य
गठनको मुद्दालाई समेत उल्लेख गरेको छैन। यसभन्दा अघिका लोकसभा चुनावहरूमा भारतीय
जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा क्षेत्रिय आकङ्क्षालाई समर्थन गर्दै ‘भाजपा
सधैँ स-साना राज्यहरूको पक्षबाट वृहत विकेन्द्रीकरणको पक्षमा रहेको छ’ भन्ने कुरा
स्पष्टसँग उल्लेख गर्दै आइरहेको थियो भने यसपल्ट भाजपा आफ्नो चुनावी घोषणा पत्रबाट
उक्त अंशलाई हटाएको छ।
No comments:
Post a Comment