‘चियाकमानमा धेरै मानिसहरूले आफ्नो कति पुस्तादेखि कार्य गर्दै आइरहेका छन्
तर उनीहरूले आफ्नो जमीनको पट्टा पाएका छैनन्। हाम्रो सरकारले चिया श्रमिकहरूको
आफ्नो जमिनको पट्टा दिनलाई अघिबाटै कमिटी बनाइसकेको छ अनि उक्त कमिटिले रिपोर्ट
सुम्पिएपछी हामी उनीहरूलाई जमीनको पट्टा दिनेछौँ। यो कार्यको निम्ति विनय तामाङ,
अनित थापा मोहन शर्माले जनतालाई अवस्यै सहयोग गर्नेछन्’ – उक्त कुरा चुना प्रचारको
क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी हुन्।
उनले दार्जीलिङ पहाडका चिया कमानवासीहरूलाई आफ्नो जमीनको पट्टा दिने
बताउँदै आफ्नो प्रतिवद्धता व्यक्त गरेकी हुन्। मुख्यमन्त्री ममता व्यानर्जी आज
एउटा चुनावी सभामा भाग लिन कालचिनी पुगेका थिए भने त्यहीबाट उनले उक्त घोषणा गरेका
हुन्। पर्जापट्टा प्रदान गर्नको निम्ति राज्य सरकारले निरीक्षण कमिटी पनि अगावै
बनाइसकेको खुलासा गर्दै राज्य सरकारले सबै चियाकमानहरूलाई पर्जापट्टा वितरण गरिने
कुरा उनले गरिन्। उक्त कमिटीले रिपोर्ट बुझाउने साथ यसको आधिकारीक प्रक्रिया शुरू
गर्ने पनि मुख्यमन्त्रीले बताएकी हुन्।
गोजमुमोले हालमा पर्जापट्टाको मुद्दालाई लिएर निक्कै गम्भीरतासाथ पदक्षेप
गर्ने दावी गरिरहेका छन् भने दार्जीलिङ लोकसभा चुनाउका गोजमुमो- तृणमूल प्रार्थी
अमरसिहँ राईले पनि दार्जीलिङ पहाड़का चियाकमान, सिन्कोना बगान, नगरपालिकाक्षेत्र तथा डीआई फण्ड अधिनस्थ
वासिन्दाहरूको निम्ति पर्जापट्टा प्रदान गरिनुपर्ने मागलाई लिएर पूर्ण प्रतिवद्धता
अनि प्राथमिकताको साथमा कार्य गर्ने दावी गरिरहेका छन्।
पर्जापट्टाको मुद्दामाथि गोजमुमो गम्भीर रहेको उल्लेख गर्दै विनय तामाङले
चियाकमानसितै सिन्कोना, डीआई फण्ड अनि डेभलपमेन्ट
एरिया जमीन, नगरपालिका
क्षेत्रका लीज जमीन अनि वनवासीहरूको पनि पर्जापट्टा प्रदान गरिने बताएका छन्। यस
विषयमा गोजमुमोले पहिल्यैदेखि कार्य गरिरहेको र आज मुख्यमन्त्री ममता व्यानर्जी
स्वयँले यस विषयमा घोषणा गरिदिएर आफूहरूको समस्या 90 प्रतिशत
समाधान गरिदिएको पनि तामाङले बताएका छन्। आगामी चुनाउ लगत्तैपछि यस विषयमाथि
आधिकारीक पहल शुरू गरिने पनि तामाङले बताए।
पर्जापट्टाबाहेक पनि अन्य थुप्रै सहुलियतहरू चियाश्रमिकहरूलाई उपलब्ध
गराउने मुख्यमन्त्रीले घोषणा गरिन् भने बन्द चियाकमानहरू खोल्ने पनि उनले बताइन्। यसभन्दा
अघि गत नगरपालिका चुनाउको छेकमा राज्य सरकारले मिरिकका कतिपय चियाकमानका
श्रमिकहरूलाई उनीहरूको जमीनको पर्जापट्टा वितरण पनि गरिसकेको छ भने यही क्रममा आज
मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले उक्त मुद्दाको उठान गर्दै अन्य चियाकमान लगायत
अन्य क्षेत्रहरूलाई पनि पर्जापट्टा दिने भनेर यस मुद्दालाई लिएर निक्कै आशालाग्दो
स्थिति उत्पन्न गरिदिएकी छिन्। उल्लेख्य, हिजोमात्र नक्सलबारीको जनसभाबाट मुख्यमन्त्री ममता व्यानर्जीले
गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको सुरक्षा गर्ने प्रतिवद्धता पनि
जाहेर गरेकी थिइन्।
No comments:
Post a Comment