धेरै लामो समय मदिरा, धूम्रपान वा ड्रग्स सेवनले शरीरको तन्त्रिका प्रणालीमा
फर्जी व्यवस्था स्थापित गराउँदछ, अध्ययनले पुष्टि गरेको सत्य।
तन्त्रिका तन्त्रका न्युरोनहरूमा रसायनको पत्र निर्माण हुन जाँदा प्राकृतिक व्यवस्थाले
कार्य गर्न सक्दैन। अल्कोहोल वा ड्रग्सको आपूर्ति नहुँदा उक्त पत्र निष्क्रिय
रहन्छ अनि समग्र शरीरलाई निष्क्रिय तुल्याइदिन्छ। उक्त पत्रलाई सक्रिय तुल्याउन
अल्कोहोल वा ड्रग्सको आपूर्ति सिवाय अर्को विकल्प हुन्न। अल्कोहोल वा ड्रग्सको
आपूर्ति गर्नुपर्ने बाध्यता जन्माउने फर्जी तन्त्रिका कति घातक हुन्छ? कल्पना गर्न सकिन्छ।
फर्जी राष्ट्रप्रेम, जातिप्रेम, भाषाप्रेमले प्रकृत विचार वा दायित्वलाई काम नै गर्न नदिने गरी ढाकेर राखिदिएको छ, जो घातक छ।
हामी सबै आफ्नो मातृभाषालाई माया
गर्छौँ, त्यसमा संशय छैन। तर अचाहिँदो र अव्यावहारिक माया देखाउँछौँ, त्यो फर्जी मतलब देखावटी हो। 20 अगस्त भाषा दिवस, 13 जुलाई भानु जयन्ती जस्ता समारोहमा भाषामाथि ठूल्ठूला
भाषण छाँटेर भाषाप्रति कर्तव्य निर्वाह गरिएको बुझ्दै अनि बुझाउँदै आएको जमातको
भाषाप्रति माया फर्जी हो भनेर तोक्न कतै समय लाग्दैन।
अहिले 80 प्रतिशतभन्दा बढ़ी
नेपालीभाषी बालक-बालिका अङ्ग्रेजी माध्यमका स्कूलहरूमा अध्ययन गर्दै होलान्। आठौँ
कक्षासम्म शिशुहरूले मातृभाषामा पठन-पाठन गर्न पाउनुपर्ने भारतमा राष्ट्रपति
प्रतिभा पाटिल हस्ताक्षरित आरटीई 2009 कानून नै बनिएको छ। तर माता-पिताको
अङ्ग्रेजी भाषाप्रति आसक्तिकै कारण हाम्रा नानीहरू अङ्ग्रेजी माध्यमका स्कूलहरूमा
पढ़िरहेका होइनन् र! अङ्ग्रेजी माध्यमले हाम्रो भाषा, संस्कृतिमाथि अतिक्रमण नहुने चेत राखेर तर जहिल्यै भाषा र
जातिप्रति प्रेम दर्साउने फर्जी प्रतिस्पर्धामा लागिपरेका छौँ र कर्तव्य पुरा
गरिरहेका छौँ। कत्रो ठूलो विडम्बना!
अठाह्रौँ शताब्दीदेखि हामीमाझ
निरन्तर बाँड़िएको अङ्ग्रेजी भाषा प्रेम भिरेर के हामी फर्जी भाषा प्रेमको वकालती
गर्ने कठपुतली बनेका छैनौँ र? दागोपाप काल अवधि सुवास घिसिङले
पहाड़का समग्र नेपाली माध्यमका विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा रूपान्तरण गरेका
तथ्यले हाम्रो अङ्ग्रेजी भाषाप्रति आसक्ति र प्रेमलाई उजागार गर्दैन त?
जातिप्रेम, भाषाप्रेमको ठूल्ठूला भाषण छाट्ने एकलौते नेताको शिशुले
नेपाली माध्यमको पाठशालामा अध्ययन गरिरहेको एउटा नमुना उदाहरण प्रस्तुत गरेर देखाइदिनोस्।
अरू त छोड़िदिऔ, वर्तमानमा स्वयम् नेपाली भाषा
पढ़ाउने विश्वविद्यालय, महाविद्यालय, विद्यालय, प्राथमिकका कुनै एक शिक्षक वा
शिक्षिकाको शिशुलाई नेपाली माध्यमको पाठशालामा भर्ना गराइएको आठौँ आश्चर्यको नमुना
पाइन्छ कतै? साहित्यकारहरू अछुतो छन् र यस
प्रतिस्पर्धामा? उच्च वर्गका अधिकारी त के सामान्य
मजदुरी गर्ने माता-पितालाई पनि आफ्ना शिशुहरूलाई अङ्ग्रेजी कन्भेन्ट स्कूलहरूमा
भर्ना गरेर सबैभन्दा ठूलो दायित्व पालन गरिएको हुने मानसिकता बाँड़्ने समाजले किन
भाषाप्रेम-भाषाप्रेम, जातिप्रेम जातिप्रेमको नारा
अलापिरहेको हँ? म त छक्क पर्छु।
हामीले रणनीति बनाएर बाहिरी
नियन्त्रण र आधिपत्य रोक्ने कार्य गर्न नसकेको स्थितिमा अरूको भाषा, विचार, संस्कृति, अपसंस्कृति, दृष्टिकोण जस्ता थोकहरू स्वतः
भित्रिन्छन्। बिस्तारै बिस्तारै हाम्रो मगजमा घर बनाएर गजधम्म बस्छन् र हामीलाई
फर्जी प्रेमको वकालती गर्ने कठपुतली बनाउँछन्। अङ्ग्रेजी भाषाप्रति हाम्रो आसक्ति
त्यसको ज्वलन्त उदाहरण हो।
अहिले नेपाली माध्यमका पाठशालामा
कतै कतै सातजना शिक्षक एकजना विद्यार्थी, तीनजना शिक्षक एकजना विद्यार्थी
रहेका स्थिति प्रकाशमा आइरहेको छ। तर कतै र कसै गरेर गिल्ला गर्दैन यस्तो स्थितिले
तपाईँ हामीलाई। भाषाप्रति फर्जी मायाले उपलब्धि दिन सक्तैन। अहिलेसम्म हामीले
बटुलेका चेत हुन सकेन तर यो। धेरै हदसम्म भाषिक सङ्घर्ष राजनैतिक लड़ाइँसित
सम्बद्ध बनिसकेको छ। राजनैतिक सत्तामा उक्लिनेहरूले भाषा संरक्षणका पुख्ता अनि
दीर्घमियादी रणनीति तयार पार्नु नै पर्छ।
आफ्नै भाषाको व्यावहारिक प्रयोग
हुने कर्म संस्थानहरूको स्थापना, वर्तमान प्राविधिक संसारसित
भाषालाई युक्त गर्ने कसरत, व्यावसायिक संस्थान - कार्यालयमा
भाषाको सर्वाधिक प्रचलन जस्ता ठोस कदमबिना भाषालाई बचाइराख्न असम्भव छ। सत्तामा
चढ्नेहरू यस्ता पहल छोड़ेर भएकै संस्थानहरू बन्द गर्न साथै रहेका संस्थानहरूमा
आफ्नो भाषाको प्रयोग निमिट्यान्न पार्ने दिशामा अग्रसर छन्। तब के भन्ने! हाम्रै
अनुहारहरूले सञ्चालन गरेका दागोपाप काल, जीटीए-1 अनि जीटीए-2 मा भाषाको
सुदृढ़ीकरणमा कुनै पहल चालिए त? व्यर्थैमा ठूल्ठूलो भाषण र सस्तो
माया बर्साइरहेका छौँ।
यस प्रसङ्गमा वैश्विक कसरत कस्तो छ, त्यसलाई झल्काउने एउटा घटना यहाँ प्रस्तुत गरिरहेको छु।
चीनले ओप्पो (OPPO) र भिभो (VIVO) कम्पनीमार्फत भारतमा भर्खरै व्यवसाय आरम्भ गरेको थियो।
छिमेकी भाइले ओप्पोमा काम पाए। दिनभरि काम गरेपछि बेलुकी रिपोर्ट पठाउनु साथै
सामूहिक चर्चामा अंशग्रहण गर्नुपर्ने नियम रहेछ। फोनमार्फत सामूहिक चर्चाका लागि WECHAT (विच्याट) एप्लिकेशन प्रयोग गरिँदो रहेछ। वाट्सएप, मेसेञ्जर आदि एप्लिकेशनहरूमा पनि सामूहिक चर्चा गर्न
सकिन्छ। तर भाइबाट थाहा लाग्यो, चाइनिज कम्पनीका कर्मचारीहरूले WECHAT एप्लिकेशन अनिवार्य प्रयोग गर्नुपर्ने कठोर निर्देश जारी
रहेछ। उत्सुकता जाग्यो अनि बुझेँ, विश्वको अर्को भाषा नसिकी चीनिया
नागरिकहरूले विश्वभरि सजिलै व्यवसाय गर्न सक्ने रहेछन्। WECHAT मा झट्ट भाषा अनुवाद गर्ने सामर्थ्य रहेछ। चीनिया भाषा
बोल्ने नागरिकहरूका लागि अर्को भाषा सिकिरहने आवश्यकता परेन। प्राविधिक
संसाधनहरूलाई व्यावहारिक प्रयोगयोग्य बनाउन चाइनिज कम्पनीद्वारा निर्मित WECHAT एप्लिकेशन भाषिक अतिक्रमण रोक्ने एउटा हतियार त पक्कै हो।
यो किनभने, लगभग पुरै विश्व मिचेको बिल
गेट्सको माइक्रोसफ्ट कम्पनी रोक्न एकमात्र चीनले रेड ह्याट र लिनक्स जस्ता
कम्प्युटर अपरेटिङ सफ्टवेयर निर्माण गऱ्यो जो कारागार मात्र नभएर विश्वव्यापी
स्तरमा माइक्रोसफ्टलाई टक्कर दिन सक्षम छ।
उता एमाजोन, फ्लिपकार्ट जस्ता अमेरिकी अनलाइन सपिङ कम्पनीहरूको एकतन्त्र
समाप्त पार्न अलिबाबा डट कममार्फत ज्याक मालाई पनि त चीनले स्थापित गरेकै हो।
चीनले प्रत्येक क्षेत्रमा बाहिरी नियन्त्रण र आधिपत्यलाई रोक्न तयार गरेको रणनीति
र कौशलको प्रमाणहरू हुन् यी। वर्तमान वैश्विक समरमा युद्ध यसरी नै लड़िन्छ।
अतिक्रमणको विलाप गरेर मात्र हुन्न, बाहिरी शक्ति रोक्ने र परास्त
गर्ने व्यावहारिक कसरत हुनुपर्छ।
No comments:
Post a Comment