कलाकारहरूको
समुद्र महानगर मुम्बईमा अब गोर्खे प्रतिभाहरूको पनि ओइरो लाग्न थालिसकेको छ।
टेलिभिजनका रियलिटी शो अनि विभिन्न कार्यक्रमहरूमा नेपालीभाषी गोर्खे कलाकारहरूले
जुन प्रकारको जादु देखाएर दर्शक अनि निर्णायकहरूको मन जितिरहेका छन् त्यसबाट के
बुझ्न सकिन्छ भने यी प्रतिभाहरूको भविष्य साँच्चै उज्ज्वल छ अनि सुस्तरी सुस्तरी
यिनीहरूकै कारण यो देशमा गोर्खाहरूको परिचयले पनि एक अलग आयाम उपलब्ध गर्नथालेको
छ। आजभन्दा दस-बीस सालअघिसम्म पनि सेना र सुरक्षाका क्षेत्रमा मात्रै चिनिइने
गोर्खाहरू अब देशको सिमानादेखि लिएर मनोरञ्जन अनि कलाको दुनियाँमा पनि लछेप्रै
देखा पर्न थालेर आफ्नो चिन्हारीको अर्को फाँट प्रस्तुत गर्न सक्षम बनिरहेका छन्।
यस्तै कलाकारहरूमा एक हुन् बाल-प्रतिभा अक्षित भण्डारी।
सोनी
इन्टरटेनमेन्ट टेलिभिजनको लोकप्रिय नाँच प्रतियोगिता सुपर डान्सरको तेस्रो भागमा
आफ्नो नृत्य कलाको अन्यतम नमुना पेस गर्दै भोटिङ चक्रसम्म पुग्न सफल बनिसकेका 11
वर्षीय प्रतिभाको नाउँ हो अक्षित भण्डारी। आर्थिक रुपले खुबै कमजोर अनि पछौटे
परिवारमा जन्मेर आज भारतव्यापी रुपमा आफ्नो नाउँ सुवास छर्न सक्षम अक्षितलाई भेट्न
10 मईका दिन हामी व्यस्ततम महानगरी मुम्बईको ओसिवाडा पुग्छौँ।
जोगेश्वरी
स्टेसनदेखि रिक्सा लिएर ओसिवाडा पुग्दा बेलुकीको सात बजेको कारण साँझ पर्न लागेको
हुन्छ। अक्षितकी आमा पार्वती भण्डारीसित फोनमार्फत् हिन्दी-नेपालीमा बात हुन्छ।
उहाँले बताएको निर्देशअनुसार हामी [हीरा छेत्री र म] एउटा साँघुरो गल्लीमा पुग्छौँ
- ग्यालेक्सी स्टुडियो खोज्दै।
हामी
त सोचिरहेका हुन्छौँ स्टुडियो गतिलो होला, भव्य होला। तर त्यसै
गल्लीको एक कुनामा लगेर हामीलाई जब अक्षितकी आमाले दुइवटा चौकीको व्यवस्था गरेर
बसाउँदै स्वागत गर्छिन् हामी अवाक् बन्छौँ। सोधिखोजी गर्दा थाहा लाग्छ त्यो सानु
गल्लीभित्र मात्रै यस्ता मसिनामसिना स्डुटियोहरू बीस-पच्चीसवटा छन् भन्ने।
स्टुडियो
भन्दा पनि पूर्वाभ्यास अथवा रिहर्सल गर्ने ठाउँ रहेछ जहाँ सुपर डांसरका नर्तक
प्रतियोगीहरू आ-आफ्ना गुरूहरूसित नाचको अभ्यास गरिरहेका थिए। टिभी कार्यक्रमका
क्रिएटिभ हेड भवेश पञ्चमतियाजीसँग पनि हाम्रो परिचय हुन्छ। आफु गुजराती भए पनि
गोर्खा संस्कारसँग धेरै परिचित रहेका भवेशजीको ससुराली खरसाङमा रहेको सुनेर हामी
पनि खुसी हुन्छौँ। भवेशजीले हाम्रो इलाकाको सामाजिक अनि राजनीतिक स्थितिबारे रुची
राखेर धेरै कुराहरू गरेर हाम्रो मन जित्छन्। तर व्यस्तताको कारण उनले हामीलाई धेर
समय प्रदान गर्न सक्तैनन् र चिया पिएपछि हामी उनीबाट विदा हुन्छौँ।
त्यसपछि
हामीलाई रिहर्सल हलभित्र पस्ने अनुमति प्राप्त हुन्छ। भित्र पसेपछि देख्छौँ बाहिर
गल्ली भए तापनि भित्र यति सुन्दर हल। हलमा प्रतियोगीहरू नाचिरहेका जसमध्ये एक
अक्षित। हामीलाई देख्नेबित्तिकै सायद परिचित रङ्गरुपको अनुहार लागेर होला उनी
दौड़ेर आई अँगालो मार्छन् अनि हिन्दीमा बात गर्न थाल्छन्। हामी उनलाई नेपालीमै गफ
गर्न लगाउँछौँ। उनका साथीहरू सबै मस्त आफ्नै धुनमा नाचको अभ्यास गरिरहेका हुन्छन्
ऐनाअघि उभिएर,
लड़ेर, उफ्रेर, अङ्गप्रत्यङ्गहरू
हल्लाउँदै। कताकता त ऐनाबाट हामीलाई गिज्याइरहेका छन् कि जस्तो पनि लाग्ने। तर
होइन रहेछ नाचको पूर्वाभ्यास नै यस खालको रहेछ।
भारतमा
नेपालीभाषीहरू सङ्ख्याधिक रुपले बसोबासो गर्ने धेरैवटा स्थानहरूमा एक हो देहरादुन।
अनेपालीभाषीहरूको जनसङ्ख्या धेर रहेको यस इलाकाका नेपालीभाषीहरूको बोली अनि लवजमा
हिन्दी वा अन्य भाषाहरूको प्रभाव पाइनु कुनै आश्चर्चजनक कुरो होइन। यस्तै मिश्रित
भाकामा बात गर्छन् अक्षितको परिवारका सबै सदस्यहरू। अक्षितका पिता राजेन बहादुर
भण्डारी देहरादुनको भरौलीमा भाड़ाको घरमा बस्ने परिवारका एकमात्र आर्थिक मेरुदण्ड
हुन् जो रिक्सा चलाएर दैनिक ज्याला कमाई हातमुख जोड्ने काम गर्छन्। न्यु इरा नामक
अङ्ग्रेजी स्कुलमा शिक्षार्जन गरिरहेका अक्षित सातौँ कक्षाका विद्यार्थी हुन्।
सानैदेखि
नाचगान भनेपछि हुरुक्कै हुने अक्षितलाई स्थानीय गाउँले गुरूहरूले नै नाचकलामा
पारङ्गत गराएका हुन्। उनलाई सुपर डांसरको यस उचाइँसम्म ल्याउने गुरू हुन् मनोज
गुसाई बनियावाला। मनोजले अक्षितलाई सबै प्रकारका नाचहरू सिकाउँदै ल्याएका थिए।
यसैबिच सुपर डांसरको अडिसन देहरादुनमै आयोजना हुने हल्ला भयो। गत वर्ष मात्र यसै
प्रतियोगितामा भाग लिएर फाइनल चक्रसम्म पुगेका देहरादुनकै आकाश थापा अनि उक्त
सिजनका विजेता गोर्खा कलाकार आसामनिवासी विशाल शर्माको प्रस्तुतिले प्रोत्साहित
बनेका बालकलाकार अक्षित आफ्नो गुरूको मार्गदर्शनमा देहरादुनको अडिसनमा हिस्सा लिएर
सफल बन्छन्। त्यसपछि उनलाई दिल्लीमा बोलाइन्छ जहाँ अन्य क्षेत्रका प्रतियोगीहरूको
अगाड़ि उनले आफ्नो कलाकारिता प्रस्तुत गर्नुपर्ने चुनौती थियो। त्यहाँ पनि आफ्नो
नृत्यकलाको जादुले निर्णायकहरूको मन जित्न सफल बनेपछि उनलाई मुम्बई अडिसन बोलाइयो।
बीस लाख प्रतियोगीहरूको भिड़बाट चुनिँदै चुनिँदै बीस हजार शिर्ष नर्तकहरूमा उनको
छनौट भयो। यसरी नै बीस हजारबाट मुम्बईमा केवल 78 जना चुनिए अनि 78-बाट 48 जना। यसो
गर्दै-गर्दै आज शिर्ष दसमा पुग्न सफल अक्षित एक इमानदार, गम्भीर, सुस्वभावी, अनुशासनबद्ध
नर्तक रहेको उनका अहिलेका नृत्य गुरू विवेक चाँचड़ेले हामीलाई बताए।
अक्षितबाट
के आशा गर्नुभएको छ भनेर सोद्धा उनले भने, जित र हार ठुलो कुरो होइन
तर यहाँसम्म आइपुगेपछि अक्षितले आफ्नो परिचय कायम गरिसकेको छ। अब उसको भविष्य
कलाको दुनियाँमा उज्ज्वल छ। उसलाई अझ चम्किलो नक्षत्र बनाउनका लागि हजुरहरूको
मायाको आवश्यकता छ जो भोटको रुपमा तपाईँहरूले दिनुपर्नेछ। इमानदार र अनुशासित
कलाकार अक्षितको परिवारको आर्थिक अवस्था कमजोर छ। तर त्यस्तो स्थिति हुँदाहुँदै
पनि यसरी कलाको दुनियाँमा दत्तचित्तले लागिपर्नु अनि देशविदेशका प्रतियोगीहरूलाई
उछिनेर यसरी आफ्नो छवि कायम राख्नु ठुलो कुरो हो। मलाई पुरा विश्वास छ अक्षित यस
सुपर डांसरको तेस्रो किस्तीको फाइनल चक्रसम्म नै पुग्नेछ अनि आफ्नो सफलताको पताका
फर्फराउनेछ। किनभने यो सङ्घर्षमा कलासँगसँगै परिश्रमको ठुलो भूमिका हुन्छ अनि
अक्षितले जुन प्रकारको मेहेनत गर्ने गरेको छ त्यसलाई देख्दा मलाई लाग्छ उसले कुनै
पनि प्रकारको बाधालाई सहजै उछिन्नेछ।
अक्षितलाई
पनि यस्तै मनोबलले बाँधिएका पायौँ हामीले। कुन स्तरसम्म पुग्ने सपना छ भनेर सोद्धा
उनले सहजैसित आत्मविश्वासले भरिएको भाव पोखे, फाइनल राउन्डमा पुगेर
बिजेता बन्ने। सबैभन्दा कठिन चुनौती दिने प्रतियोगी को छ भनेर सोद्धा पनि उनले
बताए, कोही
छैन। टप सिक्समा पुगिसकेको थिएँ तर अहिले फेरि वाइल्ड कार्ड एन्ट्री गराएर अरूलाई
हुलेपछि टप टेनमा पुगेको छु। तर मलाई डर लागेको छैन किनभने मलाई मेरा गुरूको
मार्गदर्शन प्राप्त छ। देहरादुनका पुराना प्रशिक्षकहरूको आशीर्बाद प्राप्त छ।
घर-परिवार र स्कुलका सबैको माया-ममता प्राप्त छ अनि हजुरहरूजस्ता देशभरिका आफ्ना
साखा-सन्तानहरूको प्रोत्साहन प्राप्त छ। तर म हजुरहरूलाई मेरो नाच हेरेपछि शनिबार
अनि आइतबारको राति 8 बजीदेखि 12 बजीभित्र सोनी एप्सबाट मलाई भोट गरिदिने अपिल
गर्दछु। प्रतियोगितामा विजयी बनेपछि के गर्ने विचार छ भनेर उनलाई भावी उद्देश्य
सोधेपछि अक्षितले जुन उत्तर दिए त्यो सुनेर हामी दङ्ग भयौँ। अक्षितले भने, एउटा
घर बनाउँछु। 11 वर्षीय कलिलो बालकको मुखारवृन्दबाट यो सुन्दा हामीलाई बुझ्न गारो
भएन उनीहरू किराइको घरमा रहिरहेका छन् अनि घरविहीन परिवारलाई आफ्नो छहारीको
महत्त्व के हुन्छ भन्ने।
अहिलेसम्म
बलिउडका प्रख्यात कलाकारहरूको सामुन्ने 15 वटा प्रकरणमा आफ्नो नाच प्रस्तुत गरेर
सकारात्मक प्रतिक्रिया बटुलिसकेका अक्षितलाई तर टाइगर श्राफसँगको भेटघाट खुबै
स्मरणीय लागेको बताउँछन्। निर्णायकहरू शिल्पा शेट्टी, गीता
कपुर, अनुराग
बासूबाट पनि खुबै प्रोत्साहनवर्द्धक प्रतिक्रिया पाइरहेको अक्षितले बताए।
गत
वर्षको दिसम्बर महिनादेखि सुरू भएको अक्षितको यो चुनौतीपूर्ण यात्रामा उनलाई हरदम
साथ दिइरहेकी छिन् उनकी आमा पार्वती भण्डारीले। साधारण घरेलु महिला रहेकी पार्वती
भण्डारी अनि इ-रिक्सा चालक राजेन बहादुर भण्डारीकी एक छोरी पनि छिन् - आकाशकी दिदी
जो दसौँ श्रेणीको परीक्षा लेखेर आफ्नो परीक्षाफलको प्रतीक्षा गरेरहेकी छिन्।
अक्षितकी दिदी आँचल पनि एक होनहार खेलाड़ीकी रुपमा आफ्नो छवि कायम गरिरहेकी
प्रतिभाशाली युवा हुन्। लङ जम्प अनि छोटो दुरीको दौड़मा अन्यतम प्रस्तुति दिएर
खेलकुदको दुनियाँमा सफलता प्राप्त गरिरहेकी आँचललाई तर प्रायोजकहरूको खाँचो छ जसले
सही तालिमको व्यवस्था गराइदिनसकून्। उचित समयमा सही मार्गदर्शन पाउनसकिन् भने
आँचलले पनि आफ्नो जातिको नाउँलाई माथिल्लो स्तरसम्म पुऱ्याउन सक्ने कुरामा दुइमत
छैन। उनकी आमा आफ्नी छोरीले पनि केही न केही सफलता प्राप्त गर्ने कुरामा विश्वस्त
देखिन्छिन्।
अक्षितलाई
सफलताको चुचुरासम्म पुऱ्याउने अभिभारा अब हामीमाथि पनि आइलागेको छ। प्रतिभाको
दमद्वारा माथिल्लो दर्जामा पुगेसकेका अक्षितलाई टेवा दिनका लागि हामी जातिप्रेमी, कलाप्रेमी
अनि अक्षितप्रेमीहरूले गर्नुपर्ने काम के छ भने सोनी इन्टरटेनमेन्ट कार्यक्रममा
सुपर डांसर प्रदर्शन भइरहेको समय राती 8 बजीदेखि 12 बजीसम्ममा आफ्नो मोबाइलबाट
उनको नाममा भोट गर्नु मात्रै हो। यसका लागि आफ्नो ह्यान्डसेटमा सोनी एप्स डाउनलोड
गरेर सुपर डांसर थ्रीमा पुग्नुपर्छ अनि त्यहाँ अक्षितको चित्रमा आफ्नो औँली
थिच्नुपर्छ। एउटा सिमबाट पचासपल्टसम्म भोटिङ गर्नसकिने जानकारी दिँदै अक्षितले
सबैसबैलाई यति सहयोग गरिदिने अपिल गर्दै हजुरहरूले यति गरिदिनुभयो भने नाच प्रस्तुतिमा
म आफ्नो दिलोज्यान लगाउनेछु अनि हजुरहरूको योगदानको म स्वयम् कदर गर्नेछु भनी
आशाको नजरले हेर्दै हामीलाई संस्कारपूर्ण अभिवादनसहित स्टुडियोबाट विदा दिए।
No comments:
Post a Comment