शिक्षाविद् डा.
डिकबहादुर देवानलाई गोरुबथानको साझा साहित्य संरक्षण संस्थाले पहिलो ‘स्व. आर. बी. राई
स्मृति पुरस्कार’-ले अलंकृत गर्ने घोषणा गरेको छ। हिजो सम्पन्न भएको
साझा साहित्य संरक्षण संस्था,
गोरुबथानको बाह्रौँ
स्थापना दिवस कार्यक्रमपछि उक्त कुराको घोषणा संस्थाका अध्यक्ष तरुण थुलुङले गरेका
हुन्। उनले बताएअनुसार
युद्धवीर हाई स्कूलका भूतपूर्व प्रधान अध्यपक तथा समाजसेवी स्व. आर. बी. राईको
स्मृतिमा यसवर्षदेखि प्रदान गरिने उक्त पुरस्कारको प्रायोजना उनका
छोरा-बुहारीहरूले गर्नेछन् भने पुरस्कृत व्यक्तिको चयन अनि पुरस्कार अलंकरणको व्यवस्थापन
साझा साहित्य संरक्षण संस्थाले गर्नेछ।
पेशागत जीवनको सिङ्गो भाग यहाँको युद्धवीर हाई स्कूलका
प्रधानाध्यापकका रूपमा कार्यरत रहेर सेवानिवृत हुने आर. बी. राईको देहान्त गत:
वर्ष मात्र भएको थियो। स्व. राई एकजना
प्रधानाध्यपकसँगै गोरुबथानमा उच्च शिक्षाको प्रारम्भिक ज्योति बाल्ने व्यक्तित्वका
रूपमा परिचित थिए। यसैले उनको नाममा प्रायोजित प्रथम पुरस्कार पनि शिक्षाकै
क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने निर्णय गरिएको कारण
उक्त पुरस्कारको सही हकदार पेदोङ निवासी शिक्षाविद् डा. डिकबहादुर देवानलाई चयन गरिएको हो।
साझा साहित्य संरक्षण संस्थाद्वारा आगामी २० अगस्तका दिन
गोरुबथानमा सम्पन्न हुने ‘२८ औँ भाषा दिवस समारोह’-मा उनलाई उक्त प्रथम ‘स्व.आर.
बी. राई स्मृति पुरस्कार’-ले विभूषित गरिनेछ। पुरस्कारमा नगदराशि, अङ्गवस्त्र,
अभिनन्दनपत्र र स्मृतिचिन्ह रहनेछन्। उक्त समारोहका प्रमुख अतिथिका रूपमा साहित्य
अकादमी, दिल्ली, नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नामदुङ उपस्थित
रहनेछन्।
डा. डिकबहादुर
देवानले शिक्षण, विद्यालय संचालन, पाठ्यपुस्तक लेखनसँगसँगै सिङ्गै दार्जिलिङे
शिक्षाको इतिवृत अंग्रेजी र नेपाली भाषामा लेखेर शिक्षासँगसँगै सिङ्गै नेपाली वाङमयको क्षेत्रमा अभूतपूर्व योगदान पुर्याएका छन्। डा. देवानलाई दार्जिलिङ
शिक्षा जगतका मूल अध्येता, आन्वेषक र
इतिहास लेखकका रुपमा चिनिन्छ। उनले “दार्जिलिङ पार्वात्य अंचलमा शिक्षाको सुरुवात
अनि विकासक्रम : एक ऐतिहासिक सर्वेक्षण” नामक एक वृहतग्रन्थ सन् २००९ मा नै
प्रकाशित गरेका छन् भने यसैको अंग्रेजी भाग “एडुकेसन इन् दार्जिलिङ हिल्स : एन
हिस्टोरिकल सर्वे” पनि यसै साल प्रकाशित भइसकेको छ। यति मात्र होइन उनले “एडुकेसन
इन् सिक्किम, एन हिस्टोरिकल रेस्ट्रोस्पेक्ट” अनि “एडुकेसन इन् दार्जिलिङ हिल्स
ड्युरिङ द पिरियड अफ् गोर्खाल्याण्ड एजिटेसन” नामक पुस्तकहरू पनि अंग्रेजी भाषामा
प्रकाशित गरिसकेका छन्।
११ अक्टोबर १९४७ का दिन कालेबुङको पेदोङमा जन्मिएका डा.
देवान यहाँको सन्त जर्ज हाई स्कूलका भूतपूर्व अंग्रेजी शिक्षक र उपप्रधानाध्यापक
पनि हुन्। अवकाशोप्रान्त उनले सिक्किम हर्कमाया बीएड कलेजका शिक्षक-प्रशिक्षकको
रूपमा अनि इन्दिरा गान्धी ओपन युनिभर्सिटीका परिक्षकका रूपमा पनि सेवा पुऱ्याएका
छन्। शान्तिनिकेतनबाट पीएचडी गरेका उनले राजनीति शास्त्रमा एमए गरेका थिए भने
नेहु, शिलङबाट एमएड पनि गरेका थिए।
No comments:
Post a Comment