सन्त अगस्तिन स्कुल, कालेबुङको आयोजनामा पुरूषवर्गमाझ एङ्ग्लो
ईन्डियन अन्तर विद्यालय खेलकुद समारोह सम्पन्न भएको छ। सन्त अगस्तिन स्कुलकै खेल
मैदानमा सम्पन्न भएको उक्त खेलकूद समारोहमा मोठ सातवटा एङ्ग्लो ईन्डियन स्कुलहरूमा
क्रमैले सन्त जोसेफ नर्थ पोइन्ट, सन्त पौल दार्जीलिङ, गोथल्स् मेमोरियल स्कुल,
भिक्टोरिया बोइज, माउन्ट हर्मन, डा. ग्राह्म होम्स अनि सन्त अगस्तिन स्कुलका
खेलाडीवर्गले भाग लिएका थिए। यस अवसरमा सन्त
जोसेफ कन्भेन्ट कालेबुङकी प्राचार्य सिस्टर मारिया सिसिलिया सेन मुख्य अथितिका
रूपमा उपस्थित रहेकी थिइन् भने सन्त अगस्तिन स्कुलका प्राचार्य फादर जेराड लेप्चा,
फादर डेरिक डिसुजा, डा. ग्राह्म होम्सका प्राचार्य निल मोन्टेरो विशिष्ट अतिथिका
रूपमा उपस्थित रहेका थिए।
मुख्य अथिति सिस्टर मारिया सिसिलिया सेनले राष्ट्रिय
झण्डोत्तलन गरेपछि मार्चपास सम्पन्न भएपछि उक्त खेलकूदको औपचारिक सुरु भएको घोषणा
गरिन्। यस अवसरमा विभिन्न वर्गहरूमा विभाजित खेलहरू क्रमैले हाई जम्प, लङ जम्प, बाधापूर्ण
दौड, ब्रड जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, डिसकस थ्रो, सर्टपूट लगायत विभिन्न
प्रकारका दौडहरू सम्पन्न भएको थियो।
पुरूषवर्गमाझ सम्पन्न भएको उक्त एङ्ग्लो ईन्डियन अन्तर
विद्यालय खेलकुद समारोहमा सबैभन्दा धेर अङ्क हासिल गरेर सन्त जोसेफ स्कुल
दार्जीलिङले आफ्नो आधिपत्य जमाएको थियो। यसक्रममा उक्त विद्यालयले खुल्ला वर्गमा
43 अङ्क, बी डिभिजन अन्तर्गत 43 अङ्क, सी डिभिजन अन्तर्गत 37 अङ्क, डी डिभिजन अन्तर्गत
29 अङ्क हासिल गरेर मोठ चारवटा च्याम्पियन ट्रफी जित्न सकेको छ। यसरी नै गोथल्स
मेमोरियल स्कुलले ए डिभिजनमा 45 अङ्क, अनि सन्त अगस्तिन स्कुलले ई डिभिजनमा 22
अङ्क हासिल गरेर एक-एकवटा च्याम्पियन ट्रफी हासिल गर्न सक्षम भएको छ। उक्त खेलकूद
प्रतियोगितामा विजयी बनेका प्रतियोगीहरूलाई मुख्य अतिथिका सँगै विशिष्ट
अतिथिवर्गको बाहुलीबाट ट्रफीसँगै प्रमाणपत्र वितरण गरिएको थियो।
No comments:
Post a Comment