संसदको चलिरहेको शीतकालिन सत्रमा छुट्टै राज्य
गोर्खाल्याण्ड गठनको पहल शुरू गरिनुपर्ने माग गर्दै गोर्खाल्याण्ड संयुक्त संघर्ष
समिति (जीएसएसएस)ले आज दिल्लीको जन्तर मन्तरमा साङ्केतिक धर्ना प्रदर्शन गरेका छन्।
यस अवसरमा जीएसएसका कार्यकर्ताहरू भेला भएर छुट्टै राज्य गोर्खाल्याण्डको माग
गर्दै नाराबाजी गरेका थिए।
यसक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै जीएसएसएसका अध्यक्ष
किरण बिकेले लोकसभा चुनावको क्रममा आफ्नो संकल्प पत्रमा गरेको स्थायी राजनैतिक
समाधानको माग एकमात्र गोर्खाल्याड रहेको भन्दै उक्त माग झट्ट पुरा गर्नुपर्ने
बताएका छन्। ‘गत लोकसभा चुनाव अवधि भाजपाद्वारा आफ्नो मेनिफेष्टोमा लेखिएको गोर्खाहरुको
स्थायी राजनैतिक समाधान मात्र छुट्टै राज्य गोर्खाल्याण्ड हो।
गोर्खाल्याण्ड भन्दा अरु कुनै विकल्प वा समाधान गोर्खाहरुको
निम्ति स्थायी हुनै सक्दैन। यसर्थ जनआकाङ्क्षा र जनाधिकारलाई मध्यनजर राख्दै केन्द्र सरकार अनि जनादेश लिएर आएको हाम्रो
प्रतिनिधि हाम्रा सांसद श्री राजु विष्ट ज्यूले आफ्नो पक्ष स्पष्ट गर्नु पर्छ अनि
यो शीतकालीन सत्रमानै गोर्खाहरुको स्थायी राजनैतिक समाधान अथवा छुट्टै राज्य गोर्खाल्याण्डको
पहल सुरु गरेको हुनुपर्छ’ किरण बिकेले भने।
यसक्रममा उनले एनआरसी सम्बन्धमा पनि सरकारले आफ्नो अडान
स्पष्ट राख्नुपर्ने जीएसएसएसले माग गरेको छ। ‘अहिले गोर्खाल्याण्ड क्षेत्रका
गोर्खाहरुलाई एनआरसीको मुद्दाको डर देखाएर मूल मुद्दा देखि पनसाउने काम गरिन्दैछ। अहिले
सम्म न त सुप्रीमकोर्टको कुनै आधिकारिक घोषणा आएको छ न त केन्द्रको नै कुनै
आधिकारिक बयान छ। तर,
विभिन्न पक्षले आफ्नो राजनैतिक बयानद्वारा डर देखाउँदै वा कति पक्षले सान्तवना दिँदै
गोर्खाहरुलाई उल्झाई राख्ने कार्य नै गरी रहेको छ। अब केन्द्र सरकारले अनि हाम्रो
प्रतिनिधिको तर्फ बाट स्पष्टीकरण भएको हुनुपर्छ। गोर्खाल्याण्ड क्षेत्रवासी गोर्खाहरुलाई
एनआरसीको विषय सही कुरो राखेको हुनु पर्छ’ किरण बिकेले भने।
यसै सन्दर्भमा जीएसएसएसले आज प्रधानमन्त्री कार्यालय अनि
गृहमन्त्री कार्यालयमा पत्रचार पनि गरेको छ। यसका साथै सांसद राजु विष्टलाई पनि
भेट गरेको छ। सांसद राजु विष्टसँगको भेटघाटमा सांसदलाई आगामी दिनमा संसदमा छुट्टै
राज्य गोर्खाल्याण्डको माग स्पष्टसँग राख्नुपर्ने माग पनि गरेको छ।
No comments:
Post a Comment