गफसफ.com, गान्तोक, 25 डिसेम्बर। भारतीय नेपाली साहित्यको बलियो आधार क्षेत्र दार्जीलिङको साहित्यकारहरूको निम्ति महत्वपूर्ण माध्यम चोकबजारको साझा पुस्तक पसल (अहिले साझा पुस्तक सदन) का सर्वप्रिय लालगेडी जस्ता व्यक्तित्व कान्छा दाजु (शिव राई) को असामयिक निधनप्रति चिया कविता समूह सिक्किमले गहिरो शोक व्यक्त गरेको छ। चिया कविताका संयोजक प्रवीण खालिङले प्रेस बयान जारी गर्दै सम्वेदना व्यक्त गरेका छन्।
उनले प्रेस बयानमा भनेका छन् दार्जीलिङ र सिक्किम तथा साझा पुस्तक चिन्ने सम्पूर्ण साहित्यप्रेमी समुदायमा उनको निधनले गहिरो पिडाबोध भएको छ। दार्जीलिङ भएर शिक्षा लिने या साहित्य गर्ने दार्जीलिङ बाहिरका साहित्य प्रेमीहरूको निम्ति पनि उत्तिकै परिचित र प्रिय मान्छे कान्छा दाजुको असामयिक निधन भएको कुराले चिया कविता समूह पनि मर्माहत बनेको छ। उनले भनेका छन्, प्रत्यक्ष साहित्य लेखनमा नरहेर पनि कान्छा दाजुले जति ठूलो योगदान साहित्यको विकासमा पुऱ्याएका छन् त्यो अतुलनीय छ। उनले दार्जीलिङ क्षेत्रमा हुने साहित्यको भूत-वर्तमानबारे जुन अनुभव र साहित्यकारहरूको गतिविधिलाई देखेका थिए अनि ती साहित्यकारहरूको निम्ति साँघुको काम गरेका थिए त्यो एउटा ठूलो साक्षी अहिले भारतीय नेपाली साहित्यको आधार क्षेत्र रहेको दार्जीलिङले गुमाएको मन्तव्य व्यक्त गरेका छन्।
मृदुभाषी अनि सन्तोकी कान्छा दाजुको आत्मा शान्तिको कामना गर्दै चिया कविता समूहले उनको पछि रहेका परिवारका सबै सदस्यहरूप्रति हार्दिक सम्वेदना प्रकट गरेको छ। उनले भनेका छन् नेपाली भाषा साहित्य बाँचिञ्चेल उनको सम्झाना सधैं आलो र ताजा रहनेछ भौतिक संसारबाट विदा भए पनि यादहरूमा बाँच्नेछन् कान्छा दाजु।
No comments:
Post a Comment