सर्ट ब्रेकसम्म पढाइ भएपछि गीत र थप्पडीहरूले गुन्जिन
थालेको छ स्कुल।
टकु सर पुरानो स्कुलको काठे बरन्डामा अडेसिएर स्कुलअघिको दृश्यमा डुबेका छन्। झन्डै चेन-स्मोकरको उपाधि भिराउँदा पनि हुने सरले प...रको सिम्बल डाँडालाई बिर्सेका छन् आज, जहाँ गुरूबाबुको इमेज बरकरार राखिराख्न उनी सिग्रेट फुक्न जाने गर्छन्। गोजीमा चेप्टिएको नेविकट चुरोटहरू आज छक्क परेका छन्— किन टकु सर आज उनीहरू माथि यतिको मेहरबान छन् ? विगत दिनहरूमा जलिगएका आफन्तहरूलाई सोचेर दुःखी पनि हुँदा हुन् कि उनीहरू ? निर्जीव छन् उनीहरू अनि हामी चैं जीवनको लागि मात्रै गम्भीर बन्ने प्राणी हौं— कि कसो ? भुलिदिऔं यसैले सिग्रेटहरूलाई।
टिचर्स-डे नजिकिँदैछ। स्कुलेहरूका ओँठहरू गीत खोज्दै र
पैतालाहरू ताल खोज्दै भन्किरहेछन्। स्कुलभित्रका कोठाहरूमा यस्तै प्रीतगुन्जनको
आबोहवा छ। अनुहार, हाइट र सरीर मिलेका छरिती र छरितेहरूको छनौट भइसकेको छ र उनीहरूका खुट्टाहरू
रिदमिक बनिसकेका छन्। यस्तै अवसरहरू हुनेगर्छन् चङ्खे-चङ्खीहरूले आफ्नो अकादेमिक mediocrity-लाई ढाकछोप गर्ने बेला पनि। नाच्नलाई क्रिएटिविटि भन्दा बढी
अनुकरणको अभिसार चाहिन्छ। यो एउटा फास्टफुड जस्तो हो। छिटो अनि मिठो। यही हेरेर
गुरू-गुरूमाहरू खुशाउनेछन्। मसिना कुराहरू हुन्, बाँच्नलाई भरथेग हुने तर यादहरूमा अमर भई नबाँच्ने पनि।
टकु सरका आँखाहरू उभेका छन्— हर्कबीर, जोसेफ, बसन्त र नवीनहरू माथि। जोहरू खटाइएका छन् स्कुल प्राङ्गनमा
फ्याँकिएका कागजका टुक्रा र मैला कुचैलाहरू टिप्नको निम्ति। उनीहरू छन्
किनारिकृत..... स्कुलभित्र रमाइलो सिरजिने जत्थाबाट। यदि स्कुलको गौरवलाई दर्शाउने
प्रसङ्ग आए सम्झना गरिँदैनन् उनीहरूलाई। यसैले गन्ति पुऱ्याउने सङ्ख्याहरू हुन्
केवल उनीहरू। केवल केही डिजिट्स मात्र।
यिनीहरूलाई पनि कति नाच्न मनपर्दो होला— सोचे टकु सरले। तत्क्षणै उनका पाइलाहरू ती स्मल डिजिट्स
भएतिर लम्किए। सर छेउमा आएको भेउ पाएर उनीहरू पनि रोकिए।
—तिमेरलाई पनि नाच्नु मनपर्छ— छिनमै सोधिपठाए उनले।
अकस्मात वैरिएको सोधनीको जवाफ यसै पाएनन् उनीहरूले।
मार्जिनमा बसेरै जीवनको सपना देख्ने उनीहरूलाई यो प्रश्न बहुतै गह्रुङ लाग्यो। र
यसैयसै गलेका झैं देखिए उनीहरू।
—नाच्नु मन लाग्छ तिमेरलाई पनि ?— क्वेस्चन दोहोरियो टकु सरको।
नवीनले पलाकपिलिक विचाऱ्यो वरिपरि। टकु सरको टल्किने आँखा र
चल्मलाउने जिब्रोसित भूतडराइ गर्ने साथीहरूको मुखबाट 'बाक्के' नाउँको चिज निस्किने छाँट नदेखेपछि जुरुक्क उठेर हात पछाडि
बाँध्यो उसले र भन्यो— लाग्छ सर ?
— हर्कबीर! तेरो नि के छ भन्नु ?
नवीनले खोलिदिएको बाटो पैल्याउँदै त्यसले पनि भन्यो —लाग्छ सर।
त्यसरी नै सबैले त्यै बाटो उभिएर जवाफदानी गरे।
टकु सरको मथिङ्गलमा त्यस तथाकथित 'नाच'-को फिटस चल्मलाउन थिलिसकेको थियो। थाहै नपाई उनी प्रेगनेन्ट भइसकेका थिए।
— ल आज यो ग्राउन्ड सप्फा पार्नू। भोलि तिमेरलाई पनि म
नचाउँछु,
बुझ्यौ?— भने सरले
—हुन्छ सर— सबैले हात पछाडि बाँधेरै जवाफ दिए।
पढाइ नहुने स्कुलमा बसिरहनुभन्दा घर पुगेर त्यो शिशुलाई
जन्माउनु नै असल होला− सोचेर उनी हेडसरलाई भनीवरी घरतिर लागे। घर पुगेर लुगा
फेरिवरी परकाशले बनाएको १ मग खोलदोरे चिया सन्काएपछि सिग्रेट पनि सल्काए र
सोच्नलागे। सिग्रेटका अनेकौं खिलीहरू निख्रिसक्दा पनि तर उनले कलम कागजमा धस्न
सकेनन्। त्यतिकै साँझ भयो। खाना खान बोलाइयो उनलाई।
— आजु अलिक कम्ति पस्क है— भन्दै खोसेलाको पिरा तान्यो उनले।
— लेखिसक्नुभयो लेख्छु भनेको? — सोध्दै गर्दा हाँसोको अलिकति छेस्का पनि थियो बिमला गुरुमाको अधरमा।
— काँ..... लेख्नुको ल पनि लेख्नसक्या छैन सिरिमति ! अब भात
डम्साएर थाल्छु— उनले
भने।
— अँ होला है !— भन्दै हाँसोमा १उटा सर्काज्म पनि च्यापी मिल्काइपठाए
गुरुमाले।
यतिबेला कुनामा बसेर भातको सगरमाथा तोड्दै गरेको परकाश पनि मुसुमुसु गर्दैथ्यो क्या ! त्यो छाक टकु सरले तिहुनमा नून थपिखान बिर्से र थपनीलाई पनि 'नाई' भने। फेरि कलम लिएर बसेको सिरिमानलाई बिमला गुरुमाले कालो कफि बनाई पुऱ्याइदिए− निद्रा नलागोस् भनेर। सिग्रेट र कफिसित केही जन्माउन जमर्किएको टकु सरका आँखाभरि पछाडि हात बाँधेर उभिएका हर्कबीर, जोसेफ, नवीन र बसन्तहरू देखापरिरहेका थिए।
भोलिपल्ट।
स्कुलको अर्को कोठामा ती स्मल डिजिट्स पनि भेला भएका थिए।
आज उनीहरूले कागजका टुक्राहरू टिप्न परिरहेको थिएन। उनीहरूको लागि पनि टकु सरले
लेखिदिएका थिए नाच र अभिनयका बहानाहरू। त्यसबेला हतारमा लेखिएको र गरिएको त्यस
गीती-नाटकलाई अलिक रिफाइन्ड गरिवरी १५ अगस्तको दिन जोरथाङ लगिएको थियो। यो हो सन्
१९९२ सालको कुरा। पछिबाट यसलाई गान्तोक र नाम्चीमा पनि पुऱ्याइयो। यसरी नै सन्
१९९६-मा सिक्किम सरकारको मातहत ओडिस्सा पनि लगियो।
भुवनेस्वर लानको निम्ति सो नाटकका सामा-सर्जाम बनाउनमा
तल्लिन भएका थियौं हामी। अपुग मटेरियल्सको बिगबिगीमा मजुर, घाम, खरायो, रुख
आदि चिजबिजहरू बनाउँदै थियौं। लुगाफाटा र मेकअपको जिम्मा कुसुम दिदी र कमलमाया
भाउजुहरूमा थियो। घरमा बसेर आइजक चैं यसमा हालिने सिम्फोनिको नोट्स लेखिरहेको थियो।
ती सर्जामहरू बनाउँदै गर्दाको बेला खुप निद्रा आउनेखाले थियो क्यारे। घरिघरि
झपकझपक होलाजस्तो अवस्था थियो। घमैलो वातावरणमा बारबेट र सिकेडाहरू एकतमासले
ऋतुगायनमा मदमस्त थिए। टकु सर खरायोको स्ट्रक्चरमा धागोको भुत्ला टाँस्नलागेका थिए।
जोहन र म रुख रङ्गाइरहेका थियौं। अचानक टकु सर धागो टाँस्न छाडेर सिग्रेट सल्काउन
पुगे।
— हौ २ भाई ! बिसाऊँ हैन— उनले भने — यो नेहुल र झ्याउँकिरीले चैं एभिल ट्याबलेटको काम गर्छ जस्तो लाग्यो मलाई।
जोहन र म आधा आधा हाँस्यौं। यसरी नै तयार भए सर्जामहरू।
हामी तम्सियौं जानलाई। स्कुलको हेडसर थिए डेविड लेप्चा। जाने गठ्टा सानोतिनो थिएन।
नाटक सुरु हुनअघि भनिने डाइलगबाजी मैले लेखेको थिएँ र त्यसलाई अङ्ग्रेजीमा
ट्रान्सेलट गरिदिएका थिए देवकुमार दाजुले। त्यैबेला हो ट्रेनमा प्रथमपल्ट चढिएको
पनि। सिलगडीदेखि कोलकाता र कोलकातादेखि भुवनेस्वर। नाटक देखाइने समय रात परेको
बेला थियो। बसमा लगिएको हामीले त्यति खुट्याउन सकेनौं। तर यति चैं थाहा थियो कि
त्यो १उटा ओपन स्टेज थियो। ओडिस्सा सरकारको पर्यटन विभागले अर्गनाइज गरेको।
सुरु भयो नाटक। केसियोमा घुम्नथाल्छ आइजकका औंलाहरू।
गिटारमा जोहनको।
— "नयाँ पालुवाहरूसितै रमाउँदै आउँछ वसन्त ऋतु यो पहाडमा। गर्मीको भीषण उत्ताप
लिएर ग्रिष्म ऋतुको आगमन हुन्छ यो पहाडमा। धरतीको नग्न अवयवभरि निरापद बर्सिदिन्छ।
वर्षाका अविराम प्रक्षेपले अनकण्टार यी पहाडहरूबाट बगाएर लगिदिन्छ माटो− अनन्त
यात्रामा लीन त्यो रङ्गीतले। धमिलै भएर कति हो कति मलिला माटो बगाई मदेशमा
पुऱ्याइदिन्छ। अनि तीसितै बगेर गएको म्याक्रो अनि माइक्रो न्युट्रिएन्टहरू बेगर
हाम्रो पहाडको माटो फगतः एसिडिक भएर रहन्छ।
— फेरि अनायासै झरी थामिन्छ। बङबङ उँडिदिन्छथ धुलो। फागुनमा
मकै छरेर १जना कृषकले आकाशतिर हेर्छ− अनि दिखिन्छन् उँडिरहेका काकाकुलहरू केवल।
— यामहरूले अचेल निर्धक्कसित झुक्काउन थालेको छ पहाडमा। मृग
र कालिजहरू चर्न आउँदैनन् अचेल पहाडमा। अनि हामी बन्चरो र खुकुरी लिएर तत्पर छौं
यी रुखहरू ढाल्नलाई− हाम्रो अघि सुँक्क सुँक्क रुँदै बेहिसाब कथा बोकी आउँछ पहाडका
जङ्गलहरू। यहाँ अर्को जलियाँवाला बाग चिच्याइरहेछ।
— क्रिस्ने र माइलीका प्रेम पिरतीलाई छाहारी पुग्दैनन अचेल
चिलाउने र बेपारीहरूको। जुरेली र रानीचरीहरू क्रीडारत हुनलाई छैनन् अटब्बे फलेदोका
रुखहरू पनि। बाँको सरकाठमा सिङ्गानेका गेडा ङरेर हानाहान गर्ने जमाना नै कता हो
कता छाडिएर गएको छ। बल्छे चरीहरू आउँदैनन् अचेल खोरसानेका बुट्टामा नाच्न। कहाँ
छन् र खोरसानेका बुट्टाहरू नै हाम्रा जङ्गालहरूमा ती बल्छे चरीहरूलाई पर्खिबस्ने? यसैले− हावाले पनि स्वतः ०.५ डिग्री सेल्सियस तात्तिएर
हामीलाई चेताउनी बोलिरहेछ। यसैले− हिमालय श्रिङ्खला पग्लाएर लक्षद्वीप र मालद्वीप्स
पुरिदिनलाई पुरिदिन तत्पर छौं हामी !
— कथा यो पहाडको काखमा बसेका भयाक्रान्त जङ्गलहरूको मात्र
होइन। बेथा यो निर्धक्कसित ती जङ्गलहरूमा रुखको हत्या गर्न जाने अपराधीहरूको मात्र
होइन। पीडा यो साझा हो। यसले त केलिफोरनियाको आकाशमा ओजोन-लेयरका छिद्रहरूको
त्रासदी पनि बोकेको छ। यसले त मेक्सिको सिटिलाई ढाकेर राखिदिने धुआँको अभेद्य
पत्रको सन्देश पनि भिरेको छ। यही सन्देशलाई चरितार्थ गर्दै तपाईंहरूको मनसित
आत्मसात हुने उपक्रम खोज्छन् यी अभिव्यक्तिहरूले। राखिदिएका छौं यसरी—
फेरि कुसुम दिदी र कमलमाया भाउजुहरुको सोर बज्नथाल्छ। र
घन्किनथाल्छन् रुख बनेका बिन्दी, प्रतिमा, रजनी, बबिता, रेनुका, एलिजाबेथ, गीता र रुपमका पाउमा बाँधिएका घुंघुरूहरू।
हामी सुन्दर वन हौं
विश्वको हामी धन हौं
झरना हाम्रो सङ्गीत हो पुतली हाम्रो नाच हो
बादल हाम्रो घुम्टो हो हावा हाम्रो सास हो।
बादल तानिल्याएर वर्षा झार्ने हामी हौं
विश्वका प्राणी जातिलाई बचाइराख्ने हामी हौं।
आफू जर्जर जलेर यात्रीलाई छायाँ दिँदछौं
मिठो फल दिएर अरुलाई माया गर्दछौं
आफ्नो पातलाई झारेर माटोलाई मलिलो पार्दछौं
आफ्नो जातलाई मासेर मान्छेलाई ठूलो पार्दछौं
(रुखहरू गीत गाइरहेका बखत नै पुतली बनेकी अनुशा, खरायो बनेको नवीन, मजूर बनेको जोसेफ र बाँदर बनेको हर्कबीरहरू पनि देखापर्छन्)
[नेपथ्यबाट टकु सर—
शीतल हावाको सिरिरि बहाइमा मदमस्त भई नाचिरहेका यी प्यारा
प्यारा वृक्षहरू र यी सुन्दर वन्यप्राणीहरूलाई मानिसको लोभी नजरले देखिसहेन, बुझ्नसक्तैन वनको सुन्दरता र उपयोगितालाई। हामी दुष्ट
मानिसले आफ्नो स्वार्थपूर्ति र मौज-मस्तीको निम्ति यस्तो सुन्दर जङ्गललाई यसरी
नष्ट पार्छौं, भविष्यमा
आइपर्ने सङ्कटको खयालै नराखी ]
सङ्गीतको तालमा बन्चरो लिएर अरुणको प्रवेश हुन्छ। रुख बनेका
केटीहरू डरले काँप्न थाल्छन्।
[नेपथ्यबाट टकु सर—
आफूलाई घात गर्ने मानिसलाई देखेर यी वृक्षहरू सायद यसरी नै
भित्र-भित्रै डरले काँप्छन् होला। न बोल्न सक्छन्, न भाग्न सक्छन् यी बबुरो वृक्षहरू ! एउटै छ बाटो आफू
काटिमाग्ने। आफ्नो अन्त्यको समय आएको चाल पाएर यी निर्दोष रुखहरूले अन्तिमपल्ट
आफ्नो सृष्टिकर्ताप्रति यसरी नाद गर्छन् होला ! ]
दुई हात जोडी सुस्तरी पुकार गर्छन्-
प्रभु... प्रभु... प्रभु...
विवश छौं हामी प्रभु
प्रभु... प्रभु... प्रभु...
शरणागत छौं हामी प्रभु
प्रभु... प्रभु... प्रभु...
(प्रलापका अन्तिम उच्छेदहरूसितै दाउरे अरुणले रुखहरू
ढाल्नथाल्छ। बाँदर बनेको हर्कबीर, खरायो बनेको नवीन र मजूर बनेको जोसेफहरू चित्कार गर्दै
भाग्छन्। सङ्गीतको तालमा नाच्दै- नाच्दै दाउरे अरुणको प्रस्थान हुन्छ।)
नेपथ्यबाट टकु सर—
यसरी मनुष्यद्वारा रुखपात, वनजङ्गल नष्ट भएपछि यहाँ प्रकृति नै नष्ट-भ्रष्ट भएर जानेछ।
यहाँ सूर्यको ताण्डव नृत्य हुनेछ। आकाशबाट पानी पर्ने छैन, खोला-नाला सुकेर जानेछ, खरेडी र अनिकाल पर्नेछ। यहाँ केवल घामको खपिनसक्ने ताप
मात्र हुनेछ। तब हामी बस्ने पृथ्वी नै निष्प्राण मरुभूमि बन्नेछ।
(घाम बनेको बसन्तले ताण्डव नृत्य गर्नलाग्छ पृथ्वीमा। आइजकको
केसियोले निकासेको सङ्गीतका धूनहरू बजिरहेका हुन्छन्। कष्टसाथ छटपटाएर पुतली बनेकी
अनुशाको मृत्यु हुन्छ )
नेपथ्यबाट—
घामको सहिनसक्ने ताप र तिर्खाले यी निर्दोष कीट-पतङ्गको
मृत्यु हुनेछ।
(असाध्य कष्टसित मृत्यु हुन्छ मजुरको)
नेपथ्यबाट—
यति सुन्दर पक्षीहरूले पनि एक थोपा पानी र एक मुठी स्वच्छ
हावाको कमीमा यसरी प्राण गुमाउनु पर्नेछ।
(बाँदर पनि मृत्युको आगोशमा समेटिन पुग्छ)
नेपथ्यबाट—
ए चकचके बाँदर ! तँ पनि बाँच्न सकिनस् है मान्छेले जलाएको
अग्निकुण्डदेखि। यसरी पशुहरूका सन्तान पनि मासिएर जानेछ यो संसारदेखि।
(भोक, तिर्खा र हावाको कमीले धर्मराउँदै मानिसले प्रवेश गर्छ र एक ठाउँमा घुँडा टेकी
आकाशतिर हेर्छ)
हे भगवान् ! रक्षा गर्नोस्। (भुईंमा लम्पसार भएर छटपटाउँछ)
... पानी..... पानी.....!
(समाजका धन-सम्पन्न स्त्री र पुरुषहरू धर्मराउँदै प्रवेश
गर्छन् अनि उनीहरूसित भएका सुनका टुक्राहरू पनि फ्याँक्छन्)
स्त्री-पुरुष— प्रभु ! चाहिएन हामीलाई यी सुनका टुक्राहरू ! भो चाहिएन अब
हामीलाई रुपियाँका थाकहरू। प्रभु, बरु हामीलाई एक थोपा पानी एक मुठी स्वच्छ हावा दिनुहोस् !
(भुईँमा लम्पसार परेर छटपटाउँछन् तिनीहरू पनि)
नेपथ्यबाट— ( आइजकको केसियोले दुःखपूर्ण सङ्गीत निकास्छ)
— ए धूर्त्त मनुष्य ! तैंले तेरो कर्मको फल भोग्नैपर्छ। न
तडपि,
ऐले एक थोपा पानी र एक मुठी स्वच्छ हावाको निम्ति नतडपि। यी
अमूल्य वस्तुहरू रुखपात सिवाय अरु कसैले दिनसक्दैन। धिक्कार छ तँलाई यो अन्त्यको
घढीमा ईश्वरको पुकार गर्नु। नहेर् आकाशतिर, त्यहाँ ईश्वर छैन। ईश्वर त प्रकृतिमा छ, सत्कर्म र पवित्र हृदयमा छ अनि ईश्वर छ दया र प्रेममा।
नछटपटा तँ यसरी एक थोपा पानीको निम्ति आज। निचोर तेरो प्राणभन्दा प्यारो सुनको
टुक्रा र रुपियाँको थाकलाई। निचोर, कतै त्यसबाट शीतल पानीको धारा तेरो मुखमा झर्ला कि !
—आदरणीय दर्शकवृन्द, यो दृश्यलाई नियालेर हेरौं। यो जतातै मृत्यु नै मृत्युले
भरिएको पथ्वीको अवस्थाको कल्पना गरौं। उफ, कति निस्सासिने दृश्य ! यसरी मानिस जातिबाट नै यो सुन्दर
पृथ्वी नष्ट भएर जाने पूर्ण शङ्का छ। यसर्थ अहिलेदेखि नै हामीले सचेत भई
प्रकृतिमाथि दया र प्रेम राखेनौं भने आज यी नानीहरूले प्रस्तुत गरेका काल्पनिक
नाटक भविष्यमा साँचो बन्न नसक्ला र ? बिरुवा रोपौं, जङ्गल बढाऔं, पृथ्वी बचाऔं− यति नै हो हाम्रो सन्देश।"
नाटकले धेरै प्रशंसा बटुल्यो त्यहाँ। असीम खुशीका साथ टकु
सर,
डेविड सर, कल्चर अफिसर आदिले हातहरू मिलाए। कुमहरू जोडाए।
बित्नुसितै टकु सर पनि बुढो हुँदै गए। उनको अनुसरणमा बाँचौं
भन्नेहरूले पछितिर पनि सो नाटक धेरै ठाउँ प्रदर्शित गरिहिँडे। २०१९-को स्वतन्त्रता
दिवसमा फेरि पनि जुम स्कुलले सो नाटक जोरथाङमा प्रदर्शित गऱ्यो। त्यसको विडियो पनि
जारी भएथ्यो। यसमा प्रमोद राईको महत भूमिका रहेको छ।
यसरी सबैले सोचेको भन्दा फरक सोच्ने टकु सरले सो नाटक कसरी
र किन लेखे त ? त्यो
पनि जान्नुपर्छ जस्तो लाग्यो। नब्बेको दसकमा जुमले धेरै पर्यावरणिक दुःख
झेल्नपरेको थियो। गाउँदेखि माथि रहेको जङ्गलमा मुसा कुदेको पनि देख्न सकिन्थ्यो।
सुन्तलाका बोटहरू बिस्तारै मर्दै जाँदै थिए। चैत-बैसाखमा सर्लक्कै मर्ने अम्लिसोका
गाजहरू देखेर उराठ लागेर आउँथ्यो। वक, नागालाप्चा, कालेबुङमा पर्ने झरीले सधैं बाइपास गर्दै जाँदैथ्यो। पिउने
पानीको पनि सङ्कट गहिरिँदै गइरहेथ्यो। पञ्चायत र गाउँलेहरूले धेरैपल्ट सभा
गरिसकेका थिए। यस्तैमा टकु सरको मथिङ्गलमा जन्मिने नाटकले सधैं किनारिकृत
रहनुपरेका प्रकृति र मानिसहरूलाई समेट्नु प्रसंशनीय कुरो भएको थियो।
यस्तै प्रसङ्गहरूको लागि टकु सरलाई सधैं याद गरिन्छ हाम्रो गाउँमा।।
No comments:
Post a Comment