विचार / राजनीति ________________________________ बासुदेव पुलामी।
आजभोलि सोसलमिडिया र न्यूज च्यानलहरूमा
प्रसारित नाना थरीका भाषणहरूले वाक्कै दिक्कै र नाक्कै बनाइसकेको छ। क्षेत्रीय
राजनीतिक पार्टीका नेतादेखि राज्य-राष्ट्रिय नेताहरूको यस्ता गालीगलौजले भरिएका
भाषणहरू सुन्दा सोसलमिडियाबाट बाहिरिउँ कि जस्तो लाग्छ बेलाबेला। तर सजिलै बाहिरिन
नसकिने जालोभित्र हामी फसिसकेका छौँ ।
चुनावलाई लिएर यसपालि पाहाडमा कसलाई भोट
दिने? के भनेर भोट
दिने ? अनि किन दिने ? यस कुरामा ठुलै
अन्योल स्थिति सृष्टि भएको देखिन्छ। ठुलठुला राजनीतिक पार्टीहरू आफै भित्र-भित्रै
विभाजित खेमाहरू लिएर बाँडिएका छन्।
अर्कातिर तिनै पार्टीका जनसभामा
जनताहरूका भीड देखाएर कसको जनता धेर भनेजस्तो गरी प्रतिद्वन्दका रूपमा जनतालाई
भेडाबाख्रासरह नचाइरहेछन् नेताहरू। आफै पनि नाचिरहेका छन्। किन नाचेको होला ? जनताले सोध्नु
पर्ने हो तर सोध्ने आँट गर्दैनन्। बरू यतिसम्म गरिरहेका छन् कि सोसलमिडियामा
कट्टरवादी पार्टीका नेतादेखि कार्यकर्ताहरू झम्टाझम्टी परेको देख्दा त्यसतो अचम्भ
र उदेक पनि लाग्न छाडिसक्यो।
हुनता भोटको समयमा झरी च्याऊसरह उम्रिएका
नाना थरीका पार्टीहरू सल्बलाउन थालिहाल्छन्। अरू समय कुन दुलामा पसेका हुन्छन्
थाहा छैन। चुनावको समायमा कसरी कसरी जनताको भोट हत्याउँछन् र नेता हुन्छन्। ठिकै छ
जनताको प्रतिनिधि भएर गएपछि ता जनताको काम गर्नु पऱ्यो नि…तर दार्जिलिङमा
विगत धेरै वर्षहरूदेखि यता हेर्दै आइरहेका छौँ के जनताले चुनेर भोट लगाएका
पार्टीका प्रतिनिधि भएका नेताले ठिक काम गरिरहेका छन् ता ? जन प्रतिनिधि
भइसक्ता पनि नेताहरूलाई सोधिएको प्रश्नको सठिक उत्तर आउँदैनन्, आउने छैनन् पनि।
किन हुँदैन ता दार्जिलिङका समस्याका
समाधान? दिनोदिन
लोलोपोतो, चाप्लुसी, भाइभतिजावादले
जेलिँदै गइरहेको युवाहरूको उमेर अजिङ्गरले बाछो निलेजस्तो गरी निलेको छ छ। आफुहरू
जन्मिएर भोट दिँदै आएको यतिका वर्षहरूमा दार्जिलिङका लागि ठुलै काम के गरे नेताले
त्यो थाहा छैन मलाई। भोट खसाल्ने मेसिन मात्रै भएन र युवाहरू ..? यतिसाह्रो
हतभागी, आत्मापराजित भएर
युवाहरू कहिल्यैसम्म नेताहरूका आशामा बस्ने ? के उनीहरू साँच्चै बोल्न सक्तैनन् र..? उनीहरूमा प्रश्न
गर्ने चेतनासम्म पनि छैनन् र?
सुरजजस्ता हज्जारौँ युवाहरू आज कुनै न
कुनै पार्टीका झन्डा समातेर कुदिरहेकै छन्। कुद्नु पर्ने कस्तो वाध्यता हो यो ? कतै यो पार्टी, कतै त्यो
पार्टीमार्फत् कुद्दा पो काम भइहाल्लान् कि…भनी कुदिरहेका छन् वास्तवमा। कुद्नेहरूलाई पनि थाहा छ यसरी
चाप्लुसी गरेर काम गर्न ठिक होइन। तर पनि कुद्न वाध्य गराएका छन्। यी जम्मै कुराहरूले
पिरोलिएका युवाहरू मानसिक रूपले कमजोर बनाइएका छन्। सक्तो कमजोर बनाएर उनीहरूमाथि
शोषण गरिरहने किसिमको मानसिकता विकास भएको देखिन्छ।
यसैले पाहाडमा सुरज जस्ता युवाहरूले प्रश्न उठाउन पाउनु पर्छ। बोल्न
पाउनु पर्छ। अब खोज्ने समय आएकै हो। बोल्ने समय पनि आएकै हो। वाक्कै दिक्कै नाक्कै
भइसक्यो नि। निस्सासिएर घाँटी घाँटी आउँदासम्म नबोले आफैलाई हानी हुन्छ नि। …अपुई लाज पनि
नलागेको भन्ने किसिमको कुरो केटकेटी धरीले बुझिसके पाहाडमा। तर पनि उनीहरू कै
डङ्का ठुलो। उनीहरूकै धमास ठुलो। मञ्चमा चढेर ठुला ठुला कुराहरू हाँक्छन्…तर बर्षौ बर्षौँ
चियाबारीमा खटिखाने श्रमजीविहरूका दैनिक हाजिरा, बोनस,
पर्जापट्टा
इत्यादिका समाधानबारे ओल्याङ टोल्याङ गरिबस्छन्।
चियाबारीमा श्रमजीविहरूको जीवनस्तर
दिनोदिन खस्कँदो अवस्थामा पुगेर धेरैवटा चियाबारीहरू बन्द छन्। त्यहाँका युवाहरू
रोजगारका लागि पलायन भएर गाउँघर रित्तारित्तै भइसकेका छन्। पलायन नहोस् पनि किन ? नेताहरू आफ्नै
सुरुवालको इन्जार फुस्किएको थाहा छैन अर्कोलाई कुरीकुरी गरिबस्नमा व्यस्त छन्।
नेता र तिनका भाषण र आश्वासनदेखि वाक्कै दिक्कै भइसकेका छन् दार्जिलिङका युवाहरू।
पाहाडका राजनितिमा अब नयाँ अनुहार र परिवर्तनको बेग्लै खाले दर्शन भएको नेताको
जन्म हुन पर्छ। जसले साँचो रूपमा जनप्रतिनिधिको धर्म पालन गरून्। जनताको भोटको
सम्मान गरून्।
सुरजले भोट पाउँछ र ? कसले चिन्छ र
सुरजलाई ? भन्नेहरूलाई पनि
भन्न सकिन्छ। सुरजले भोट पाउँछ,
पाउँदैन त्यो
ठुलो कुरो नहोला तर तिनले युवाहरूको आवाजलाई बोल्ने आँट गरेको हो। दार्जिलिङमा
युवाहरू शिक्षित भएर पनि शोषित हुनु पर्ने जुन वाध्यता छ त्यसको विरूद्ध उभिएको
हो।
दार्जिलिङ पहाडमा शिक्षामाथि भएका अनेक
धाँधली र भाइ भतिजावादप्रतिको विमति पनि हो। सँधै चाप्लुसी गरेर, नेताहरूका चाकडी, ज्यु हजुरी गरेर
हुर्किनु पर्ने युवाहरूको मन-मस्तिकप्रति झकझकाएको पनि हो। यसै ता सुरजको ज्यान
हेर्नु हो भने यिनलाई तपाईहरू पत्याउनु हुन्न होला। तर यिनको विचार, दर्शन र हाँकलाई
हेर्दै पढ्दै जानु भए अवश्यै थाहा पाउनु हुनेछ।
चुङथुङ चियाबारीमा चियाका बुट्टाहरूसित
लडिबडी गर्दै हुर्किएका सुरज एकजना शिक्षित, सचेत र स्वाभामिनी युवा हुन्। चुनावी बजारमा तिनलाई किन्न
पनि आउलान्,धम्क्याउन पनि
आउलान्, तर तिनी पाहाडका
नेताहरू जस्तो बिक्री हुने खालका,
आत्मासम्मान नै
नभएका छैनन्।
कामको लागि यो पार्टी, दामको लागि त्यो
पार्टी गर्दै हिँडिहिँड्ने बाजारू मानसिकता भएका पनि छैनन्। यी कुराहरू मैले मेरो
मित्र हो भनेर मात्रै लेखेको कदापि होइन, एकजना स्वाभामानी युवासाथीलाई मेरोबाट शुभेच्छा पनि हो।
विश्वास पनि हो। तिनको यो स्वतन्त्र उम्मेद्वार भएर युवाहरूको बिचबाट यसपाला भोट
लड्ने समाचार सुन्दा मलाई यति लेख्न मन लागेको हो।
अग्रिम शुभेच्छा र सलाम छ मित्र सुरज
गुरूङ उर्फ सुरज धडकनलाई भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा निबन्धमा
भनेको कुरो यहाँ सम्झन चाहन्छु - हीरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी
सानो हुन्छ। मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ। यो पृथ्वीको सानो
शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ। सानो भनेको के, ठूलो भनेको के? यो दुनियाँमा
तारालाई ठूलो भनौं भने अनन्त आकाश जूनकरीरी जस्ता देखिन्छन्। बालुवाका दानालाई
सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली
जादूगरी दर्शाइरहेछन्। संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक।
यसैले सुरजलाई बाहिर(भौतिक) रूपबाट हेरिँदा साना युवा देखिएला तर तिनको आवाजमा
युवाहरूको आत्माबाटै भोगेको दर्शन त्यहाँ छ भन्ने लागेको छ।
शुभम्।
No comments:
Post a Comment