कालेबुङ 12 जुलाई 2022
सन्त अगस्तिन स्कुलको आयोजनामा आज 208 औँ भानु
जयन्ती पालन गरिएको छ। नेपाली विभागको आयोजना सम्पन्न भएको उक्त भानु जयन्ती
समारोहमा सर्वप्रथम केही दिन अघि मणिपुर राज्यमा पैह्रोको चपेटमा परेर सहिद बनेका
वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। स्कुलका प्राचार्य फादर डा.
भिक्टोर फर्णान्डिस, उप-प्राचार्य फादर जर्ज
लेप्चाले सहिदहरूको तस्बिर अघि दीप प्रज्वलन गर्नका साथै माल्यार्पण गरेर
श्रद्धाञ्जली अर्पण गरेका थिए। सोही क्रममा उनीहरूले नै आदिकवि भानुभक्तको तस्बिर
अघि पनि दीप प्रज्वलन अनि माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा
कार्यक्रममा फादर डेरिक डिसुजा, फादर अगस्टिन लेप्चा
अनि फादर पल राई विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
भानु जयन्तीका दिन विद्यालय छुट्टी हुने गरेको कारण सन्त अगस्तिन स्कुलले भने प्रत्येक वर्ष भानु जयन्ती एक दिन अघि नै पालन गर्दै आइरहेको परम्परा छ। यस क्रममा एक दिन अघि नै सम्पन्न भएको भानु जयन्ती समारोहमा छैटौँ अनि सातौँ कक्षाका विद्यार्थीवर्गले सामुहिक रामायण पाठ गरेका थिए।यसका साथै एघारौँ अनि बाह्रौँ कक्षामा विद्यार्थी वर्ग माझ नेपाली गीत गायन प्रतियोगिता सम्पन्न भएको थियो भने दसौँ कक्षा सम्मका विद्यार्थी वर्ग माझ नेपाली कविता आवृत्ति प्रतियोगिता सम्पन्न भएको थियो। यसका साथै विद्यार्थीवर्गले सामूहिक गीत, नृत्य र सामूहिक कविता वाचन पनि गरेका थिए।
विद्यालयको डाइमण्ड जुब्ली हलमा सम्पन्न भएको उक्त
भानु जयन्ती समारोहको नेपाली कविता आवृत्ति प्रतियोगितामा स-साना विद्यार्थीवर्गले
चर्चित नेपाली कविहरूका कविता आवृत्ति गरेका थिए। उक्त प्रतियोगितामा अभीष्ट
शर्मा प्रथम, सुमिरण गुरुङ दोस्रो अनि अद्वितीय राई तेस्रो बनेका थिए।
सोही क्रममा नेपाली गीत गायन प्रतियोगितामा अश्विन रसाइली प्रथम, स्वयम मोथे दोस्रो अनि कर्म नाम्गेल तेस्रो भएका थिए। उक्त
विजयी प्रतियोगीहरूलाई प्रचार्य फादर डा. भिक्टोर फर्णान्डिस अनि उप-प्राचार्य
फादर जर्ज लेप्चाको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो।
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य फादर
डा. भिक्टोर फर्णान्डिसले भानु जयन्ती मनाउने परम्पराले विद्यालयमा
विद्यार्थीवर्गलाई एउटा आफ्नो कला देखाउने मञ्च प्रदान भएको बताउँदै यस्ता कार्यक्रमहरूमा
विद्यार्थीवर्गलाई सहभागी बन्नुपर्ने आह्वान गरे। उनले नेपाली समाजमा भानुभक्तको
स्थान उच्च रहेको भन्दै उनको आदर्शलाई सबैले पालन गर्नुपर्ने र भानुभक्तले दिएको
योगदानलाई प्रत्येक विद्यार्थीवर्गले बुझ्न पर्ने आह्वान पनि गरे।
No comments:
Post a Comment