गफसफ.com, सिलगडी २६ दिसम्बर २०२२, सिलगडी नेपाली साहित्य संस्थानले २६ दिसम्बर २०२२ आइतबारका दिन आफ्नो ११ औँ स्थापना दिवस पालन गऱ्यो। यस उपलक्ष्यमा संस्थानले गिरी जयन्ती साथै चौथो दान खालिङ साहित्य सम्मान समारोहको पनि आयोजना गरेको थियो। प्रतिवर्ष संस्थानले आफ्नो स्थापना दिवस, अगमसिंह गिरी जयन्ती र दान खालिङ साहित्य सम्मान समारोह एकै साथ पालन गर्दछ। डा ज्ञानेन्द्र सुब्बाको अध्यक्षतामा आयोजित यस कार्यक्रममा सिक्किम, डुवर्स, दार्जिलिङ, कालेबुङ साथै सिलगडीका अतिथिहरू उपस्थिति रहेका थिए। संस्थानको स्थापना दिवसबारे जानकारी गराउँदै साहित्य संस्थानका संरक्षक प्रोफेसर घनश्याम नेपालले संस्थानले आजसम्म गर्दै आएका कार्यक्रम, यसका उपलब्धि, उदेश्य र सङ्घर्षबारे आफ्नो मन्तव्य राख्नु भयो।
गिरी जयन्तीको उपलक्ष्यमा प्रतिवर्ष आयोजना गरिने अगमसिंह गिरी वार्ता यसपालि सन्त जोसेफ महाविद्यालयका प्राध्यापक डा पदम नेपालले प्रस्तुत गर्नु भएको थियो। “अगमसिंहमा राजनैतिक कल्पना र दैनन्दिनता चिनारी र विरोधको राजनीतिमाथि एक दृष्टि”– विषयमा बोल्दै उहाँले अगमसिंह गिरीका कवितालाई विविध प्रकारले अध्ययन गर्न सकिने बताउनु भयो। गिरी उग्र मार्क्सवादी हुन् वा होइनन्, गिरीका कविताहरूमा मिश्रित सांस्कृतिक परिदृश्य कसरी व्यक्त भएको छ, गिरी र उनका कवितामा राजनैतिक विरोध कस्तो छ आदि विषयमा केन्द्रित रहेर डा नेपालले गम्भीर वार्ता प्रस्तुत गर्नु भयो। नेपाली लोक जीवनमा ‘जागित्रे’ तर्साउने, दुख दिने विषयका रूपमा विश्वास गरिन्छ तर कवि गिरीले ‘जागित्रे बनिदिन्छु म’ भनेर के भन्न खोजेका हुन्, किन जागित्रे बन्नु र कहिले सम्म बन्नु जुन जागित्रेले कहिल्यै जित्दैन, कहिल्यै कुनै टुङ्गोमा पुग्दैन त्यस्तो जागित्रे बनिदिन्छु भनेर कवि गिरी कुन राजनीतिक विरोधको कुरा गरेका हुन्? भन्ने गम्भीर प्रश्न डा पदम नेपालले आफ्नो वार्तामा राख्नु भयो।
यस कार्यक्रममा उत्तर बङ्ग विश्वविद्यालय नेपाली विभागका विद्यार्थीहरूले अगमसिंह गिरीका कविता अनि गीतको संलयन गरेर राम्रो कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको पहिलो सत्र गिरी जयन्ती संस्थानका अध्यक्ष डा ज्ञानेन्द्र सुब्बाको अध्यक्षीय भाषणपछि अन्त गरिएको थियो।
कार्यक्रमको दोस्रो सत्र ‘दान खालिङ साहित्य सम्मान’ रहेको थियो। वर्ष २०२२ को ‘दान खालिङ साहित्य सम्मान’ कवि राजेन्द्र भण्डारीलाई प्रदान गरिने निश्चित भएको थियो। दुई चरणमा बसेको निर्णायकहरूले कवि भण्डारीको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गर्ने निर्णय लिएको थियो। यस सत्रमा दान खालिङबारे वरिष्ठ साहित्यकार नरबहादुर दाहालले आफ्नो व्यक्तिगत अनुभव साझा गर्नु भयो भने कवि भण्डारीको सङ्क्षिप्त परिचय डा देवचन्द्र सुब्बाले राख्नु भएको थियो। साहित्यकार दान खालिङका परिवारबाट उपस्थित रहनु भएकी सुश्री नओमी खालिङका बाहुलीबाट कवि राजेन्द्र भण्डारीलाई ‘दान खालिङ साहित्य सम्मान २०२२’ प्रादन गरियो। कवि राजेन्द्र भण्डारीका सम्मानमा उत्तर बङ्ग विश्वविद्यालयका विद्यार्थीहरू क्रमश विनिता शर्मा, अदिति मोक्तान, श्रवणकुमार प्रधानले कवि भण्डारीका कविताहरू वाचन गरेका थिए। ‘दान खालिङ साहित्य सम्मान’ प्राप्त गरेपछि कवि भण्डारीले स्वर्गीय दान खालिङलाई सम्झना गर्दै आफ्नो व्यक्तिगत सम्बन्ध उहाँसँग अति नै आत्मीय रहेको कुरा साझा गर्नु भयो साथै उहाँले साहित्यबारे आफ्नो मन्तव्य राख्नु हुँदै साहित्यमा हामी गम्भीर हुनु पर्ने समय आएको छ र पाठकहरू पनि गम्भरी हुनु पर्छ भन्नु भयो। अहिले पाठकहरू पनि मनोरञ्जन पाठकहरू छन् कविहरू पनि मनोरञ्जन कविहरू छन् तर कविहरू यस्तै भइरहे एक दिन कविहरू नै सकिने छ भन्ने चिन्ता पनि उहाँले व्यक्त गर्नु भयो।
नेपाली साहित्य संस्थानका महसचिव डा भूपेन तामाङद्वारा स्वागत् सम्बोधन राखिएको साथै डा सपन प्रधानद्वारा कृतज्ञता अर्पण गरिएको यस कार्यक्रमको सम्पूर्ण सञ्चालन भार डा रेमिका थापाले लिनु भएको थियो भने उहाँको सहयोगी शोधार्थी शुभम शर्मा रहेका थिए।
No comments:
Post a Comment